दुवई -सन् २०११ मा स्थापना गरिएको बागलुङवासीहरुको साझा संस्था बागलुङ सेवा समाज यूएईले आफ्नो दुइ बर्षे कार्यकाल सफलता पूर्वक पूरा गरेपछि आगामी दुइ बर्षको कार्यकालका लागि आउने २५ अक्टोबरका दिन दुवईको एभरेष्ट होटलमा विभिन्न सांगीतिक कार्यक्रमका साथ प्रथम महाधिवेशन सम्पन्न गरिने भएको छ ।
अध्यक्ष गोपाल कंडेलको अध्यक्षतामा दुइ बर्षअगाडि गठन गरिएको दुइ बर्षको कार्यकाल पूरा भएपछि गत २० सेप्टेम्बर शुक्रबारका दिन दुवईको मेट्रो पार्कमा केन्द्रीय उपाध्यक्ष पूर्ण सापकोटाको अध्यक्षता, सल्लाहकार कृष्ण केसीको प्रमुख आतिथ्यता र खेमलाल पाण्डेको संचालनमा बसेको बैठकले सो निर्णय गरेको हो ।
महाधिवेशनमा निश्पक्ष र सहज ढंगले निर्वाचन गर्नका लागि कृष्ण केसीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ । खासगरी पांच पदका लागि उम्मेदवारी दिन पाइने प्रावधान गरिएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव र सचिव पद रहेका छन् । उम्मेदवारहरुले आ-आफ्नो उम्मेदवारी दिन र सदस्यता लिनका लागि अन्तिम मिति १८ अक्टोबरसम्म राखेको छ ।
उक्त महाधिवेशन गर्नका लागि हेमराज शर्माको संयोजकत्वमा तीन सदस्यीय संयोजक समिति गठन गरिएको छ । यस समितिले यूएईमा छरिएर रहेका सम्पूर्ण बागलुङवासीहरुलाई समेटदै बृहत रुपमा एक ढिक्का बनाएर लैजाने योजना रहेको बताएका छन् । महाधिवेशनलाई सफल पार्नका लागि विभिन्न क्षेत्रमा कार्यरत सबैलाई आग्रह समेत गरेको छ ।
सो अवसरमा स्थानीय कलाकारहरुको प्रस्तुतिमा विभिन्न विविध सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ भने विगतदेखि संस्थामा आवद्ध भएर आजीवन सदस्य लिने आजीवन सदस्य र उत्कृष्ट भलिवल खेलाडीहरुलाई सम्मान-पत्र पनि वितरण गरिने केन्द्रीय कोषाध्यक्ष पिताम्बर पाण्डेले जानकारी दिएको छ ।









