Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

एनआरएन युकेका अध्यक्ष आचार्य सर्बाधिक चर्चामा

लण्डन । बेलायतबाट सञ्चालित अनलाइन पत्रिका नेपालब्रिटेन डट् कम्ले आफ्नो सातौं बार्षिक उत्सव अवसर परेर बेलायतका सवार्धिक चर्चित दस नेपाली व्यक्तित्वको नाम घोषणा गरेको छ । घोषणा अनुसार गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष कुल आचार्य सवार्धिक चर्चा रहेर पहिलो स्थानमा पर्न सफल भएका छन । दोस्रो स्थानमा हेल्प नेपाल नेटवर्कका सल्लाहाकार तथा बरिष्ठ समाजसेवी सुर्य गुरुग परेका छन् । घोषणा गरिका ब्यक्तिह चर्चितमा आउनुको कारण प्रस्ट खुलाएको छ । छानिएका दसजना मध्य अधिकांसले परोपकारी काममा संलग्न छन । बेलायतमा बिभिन्न पेशा र संघसंस्थामा लागेर नेपाल र नेपालीका लागि परोपकारी क्षेत्रमा उत्कृष्ट योदान गरेका व्यक्तित्वले सम्मान पाएका छन् । उनीहरुलाई सेप्टेम्बर २२ तारिख आइतवार लण्डनमा बिषेश कार्यक्रम गरि मिडिया प्रसनालिटी अफ दि इयर २०१३ ले सम्मान गरिने भएको छ ।

 उनीहरु किन चर्चामा आए हेरौं जस्ताको तस्तै ।
१ कुल आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएन) युके अध्यक्ष कुल आचार्य गत वर्ष सर्वाधिक चर्चामा रहे । गैरआवासीय नेपाली संघ बेलायतको अध्यक्षको हैसियतमा उनले बेलायतवासी नेपाली समुदायका लागि विभिन्न क्षेत्रमा पुर्याएको योगदानका कारण उनी चर्चामा रहेका हुन् । उनकै अध्यक्ष कालमा जुम्लामा सुत्केरी स्याहार केन्द्र स्थापनाकालागि सहयोग जुटाउन गैरआवासीय नेपाली संघ बेलायत सफल भयो । उनी अध्यक्ष भएपछि बेलायतस्थित नेपाली संघसंस्थाबीच सुमधुर सम्वन्ध र सहकार्यको बातावरण बन्यो । उनले संस्थागत तथा ब्यक्तिगत रुपमा गरेका परोपकारी कामहरुको सूची निकै लामो रह्यो । स्वदेश तथा प्रवासमा कार्यरत नेपाली पत्रकारहरुको क्षमता अभिवृद्धि एवं प्रोत्साहनका लागि पत्रकार अक्षय कोष स्थापना गर्न उनको योगदान महत्वपूर्ण रह्यो । उनकै नेतृत्वमा बेलायतमा एक च्यारिटी डिनर आयोजना गरी झण्डै १६ लाख रुपैंया भन्दा बढी संकलन भयो । गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा बन्ने ५ अर्व रुपैंयाँ बजेटको जलविद्युत योजनामा बेलायतबाट करिब १० करोड लगानी नेपाल भित्र्याउन आचार्यको भूमिका महत्वपूर्ण रह्यो । काठमाडौं-हेटौंडा सुरुङ मार्ग निर्माणकालागि बेलायतबाट लगानी जुटाउन गठित समितिको पनि उनी संयोजक छन् । दैनिकजसो आफ्नो परिवारको समेत ख्याल नगरी सामाजिक काममा निरन्तर खटिरहने परोपकारी मन भएका आचार्यले झण्डै साठी लाख रुपियां बराबरको निजी सहयोग आफु जन्मेको जिल्ला लगायत नेपाल तथा बेलायतमा प्रदान गरिसकेका छन्। पर्वतको धाइरिगमा जन्मिएका ४१ बर्षीय आचार्य पेशाले रेष्टुरेण्ट व्यवसायी हुन् र गएको १४ बर्षदेखि उनी बेलायतमा बसोबास गर्दै आएका छन ।

२. सूर्य गुरुङ
गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ पछिल्लो बर्ष बेलायतमा कल्याणकारी कामहरुमा एकजना नेतृत्वकर्ताको रुपमा परिचित छन्। हेल्पनेपाल नेटवर्कको रु १० करोडको अक्षयकोष स्थापना गर्ने अभियानमा बेलायतबाट झण्डै एक करोड रुपैया उठाउने उद्देश्य बोकेका गुरुङ यही अगष्ट १८ मा अल्डरशटमा हुन लागेको बृहत् सहयोग संकलन कार्यक्रमको तयारीमा रातोदिन खटिरहेका छन्। उनले आफ्नै पहलमा च्यारिटीमार्फत् लाखौं रुपैयाँ उठाएर नेपालमा आफ्नो गाउँको शैक्षिक मुहार उज्यालो पार्न सहयोग गरे। उनले पोखरास्थित रंगशालाको पर्खाल बनाउन बेलायतबाट लाखौं रकम उठाए। त्यस्तै ह्याम्पसायरमा रहेको च्यारिटी संस्थालाई सहयोग गरेर उनले बेलायती समुदायमा नेपालीको शिर उच्च पारे । प्रत्येक बर्ष च्यारिटी कार्यक्रमहरु आयोजना गरी विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएका कारण पनि उनी चर्चामा रहे । उनकै नेतृत्वमा बेलायतमा गैरआवासीय नेपाली संघ आपतकालीन कोषको स्थापना भयो । नयाँ विचार र व्यावसायिक ज्ञानसमेत रहेका गुरुङ यसबर्ष स्थानीय सञ्चार माध्यममा आफूलाई निरन्तर उपस्थित बनाउन बनाउन सफल रहे । कास्की जिल्लामा जन्मिएका ४२ वर्षीय गुरुङ हेल्पनेपाल नेटवर्क युकेका सल्लाहकार र पेशाले रेष्टुरेन्ट ब्यवसायी हुन् ।

३. नवीन गुरुङ
फुटबल प्रेमीहरुमाझ पछिल्लो समय समाजसेवी नवीन गुरुङले निकै चर्चा बटुले । सहारा युके फुटबल क्लबको माध्यमबाट नेपाली फुटबलको विकासका लागि उनको महत्वपूर्ण योगदान रह्यो । उनले नेपाली राष्ट्रिय टिमका खेलाडी अनिल गुरुङलाई बेलायतस्थित अग्रेजी क्लबमा तालिमको प्रबन्ध मिलाए । उनले सहारा युकेको सहयोगमा सहारा पोखरा फुटवल एकेडेमीको स्थापना गरी सो एकेडेमीमा ३० जना अनाथ बालबालिकालाई रेखदेखको ब्यवस्था मिलाए । सहारा क्लब युकेका अध्यक्ष रहेका गुरुङले नेपाली फुटबल क्षेत्रकालागि हालसम्म १ करोड ५० लाख रुपैयाँ सहयोग जुटाएका छन् । उनकै सक्रियतामा सहारा युके फुटबल क्लबले ह्याम्पशायर सन्डे लिग खेल खेल्ने अवसर पायो । सहारा युके फुटबल क्लबलाई बेलायतमा सेमी प्रोफेसनल क्लबको रुपमा स्थापित गर्न लागि परेका गुरुङले भविष्यमा क्लबको आफ्नै खेलमैदान बनाउने उद्देश्य पनि लिएका छन् । आफ्नै फुटवल स्टडियम स्थापना गरी ९ देखी १६ बर्षसम्मका युवालाई उच्चस्तरीय तालिमको ब्यवस्था गर्ने उनको सपना छ । काठमाडौंमा जन्मिएका ४९ वर्षीय गुरुङ पेशाले क्याटरिङ ब्यवसायी हुन ।

४. मेजर रिटायर्ड टिकेन्द्रदल देवान
ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान बेलायतमा एसिएन अचिभर्स अवार्डले सम्मानित हुने पहिलो नेपाली हुन् । उनले नेपाली समुदायलाई पुर्याएको योगदानको कदर स्वरुप सो अवार्ड हात पारेका हुन् । सन् २००४ मा अभियान चलाएर भूपू गोर्खा सैनिकहरुलाई बेलायतमा बसोबासको ढोका खोल्ने उनी पूर्व गोर्खाहरुको समान पेन्सन र अधिकारको लागि अनवरत लडिरहने अगुवा नेताका रुपमा पनि चिनिन्छन् । उनले गत बर्ष पनि विभिन्न खेमामा बांडिएका पूर्व गोर्खाहरुलाई एकै थलोमा ल्याउन सक्दो प्रयास जारी राखे। उनकै सक्रियतामा समान पेन्सन र सुविधाको माग गर्दै आएका पूर्व गोर्खाहरुले मानवअधिकारसम्बन्धी उच्च अदालत युरोपियन कोर्ट अफ ह्युमन राइट्सको ढोका ढक्ढक्याएका छन् । नेपाली समुदायलाई सुसूचित गर्ने उद्देश्यले उनकै सक्रियतामा रेडियो बिजिडब्लुएस संचालनमा रहेको छ । गे्रटर रसमोर नेपाली कम्युनिटीका अध्यक्षसमेत रहेका देवानले स्थानीयस्तरमा नेपाली समुदाय र बेलायती समुदायबीच पुल बनेर समाजलाई एक ढिक्का बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनकै सक्रियतामा काठमाडौं जिल्लामा रहेका १२ जना अपांग बालबालिकाले आर्थिक सहयोग पाईरहेका छन् । यसका साथै भूतपूर्व गोर्खा परिवारमा मर्दापर्दा समेत सहयोग गर्न उनी संधै अगाडि रहन्छन् । १० बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका ६० वर्षीय देवान बेलायतस्थित एउटा विद्यालय र एउटा कलेजको गभर्नरको रुपमा पनि सकृय छन्।

५ खगेन्द्र नेपाली
वरिष्ठ पत्रकार तथा नेपाली साहित्य विकास परिषद्का अध्यक्ष खगेन्द्र नेपाली साहित्य र भाषाको क्षेत्रमा योगदान पुर्याएका कारण बर्षभरि नै चर्चामा रहे । नेपाली साहित्यका वृहद् हस्तीहरुको परिचयबाट नेपाली पुस्ता दरपुस्ता गौरवान्वित होउन् र विदेशीले पनि नेपाली साहित्यिक स्रष्टाकाबारेमा परिचय पाउन् भन्ने उद्देश्यले उनकै सक्रियतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका साथमा नेपाली राजदूतावासको ग्रायण्ड हलमा ५ जना वरिष्ठ नेपाली साहित्यकारहरुको संक्षिप्त परिचयसहित चित्र स्थापित गरियो । चर्चित साहित्यकार तथा आध्यात्मिक व्यक्तित्वहरुका पुस्तक आफ्नै स्वरमा रेकर्ड गरी अडियो बुकहरु प्रकाशित गरेका नेपालीलाई यसै वर्ष राष्ट्रपति रामवरण यादवले डायमण्ड शमसेर राणा स्मृति पुरस्कार प्रदान गरे। उनी र अन्य साहित्यप्रेमीहरुको सकृयतामा नेपाली समुदायमा विश्व साहित्य तथा तिनका श्रष्टाहरुबारे जानकारी बढाउने उद्देश्यका साथ साहित्यकार तथा साहित्यानुरागीसहितको एक जमातले घुम्ती कवि गोष्ठी गर्दै विलियम शेक्सपियरको जन्मघर र त्यसको सेरोफेरोको भ्रमण ग-यो । नेपाली साहित्य विकास परिषद्ले महाकवि लक्ष्मीप्रसाद देवाकोटाको १०३ औं जन्मजयन्तीका अवसरमा लण्डनमा ‘महाकवि: एक विश्वस्तरीय साहित्यिक श्रष्टा’ विषयक एक विचार गोष्ठीको आयोजना ग-यो। बेलायतमा ४० बर्षदेखि बसोबास गर्दै आएका नेपाली बीबीसी नेपाली सेवाका पूर्वप्रमुख पनि हुन ।

६ टुका क्षेत्री सेन्डवेल
समाजसेवी टुका क्षेत्री सेन्डवेल पछिल्लो समयमा विभिन्न परोपकारी काम गरेर चर्चामा रहिन् । बेलायतमा रहेका नेपालीलाई परेको स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न तल्लीन रहने क्षेत्रीले ब्रेन ड्यामेज,क्यान्सर पीडित तथा मिर्गौला काम नलाग्ने भएका नेपाली र तिनका परिवारको सहयोगार्थ आफ्नै पहलमा झण्डै ५ लाख सहयोग जुटाइन् । नेपालको दुर्गम जिल्ला जुम्लामा सुत्केरी स्याहार केन्द्र (बर्दिङ सेन्टर) स्थापना गर्न अहोरात्र खटिरहेकी क्षेत्रीले सोही परियोजनाका लागि आफ्नै खल्तीबाट करीब आठ लाख रुपैयाँ सहयोग पनि गरिन् । उनकै पहल तथा गैरआवासीय नेपाली संघ युकेको सक्रियतामा सो सेन्टर स्थापनाका लागि एकै दिनमा ३५ लाख रुपैयाँ संकलन गरियो । नेपाली नर्सहरुको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले उनले १०९ जना नेपाली नर्सहरुलाई तालिम दिएर रोजगारीकालागि सहयोग गरिन । ३३ बर्षदेखि बेलायतमा बसोबास गर्दै आएकी क्षेत्री क्वालिफाइड नर्स हुन ।

७. दूतबहादुर पुन (चिमखोले काइला)
दूतबहादुर पुनलाई धेरैले चिमखोले काइला भनेर चिन्छन । म्याग्दी जिल्लाको चिमखोलाबाट बेलायत आएका पुनले आफ्नो सक्रियतामा थुप्रै परोपकारी काम गरेर नाम कमाए । म्याग्दी ओभरसिज नेप्लीज एसोसियसन (मोना युके) का संस्थापक सल्लाहकारसमेत रहेका पुनले म्याग्दी जिल्लामा एम्बुलेन्स सञ्चालन गर्न एकै रातमा करीब ६० लाख रुपैंयाँ सहयोग संकलन गर्न सकृय भूमिका निर्वाह गरे । उनकै पहलमा अमर माध्यमिक विद्यालय चिमखोलामा करीब २० लाखको लगानीमा वायरलेस इन्टरनेट तथा कम्प्युटरको ब्यवस्था गरियो । उनले आफै संयोजक भएर बेलायतमा एउटा कम्युनिटी हाउस किन्न लाखौं रुपियां संकलन पनि गरे । परोपकारी काम गर्न खारिएका पुनकै पहलमा बेगा र चिमखोला जोड्ने मोटरबाटो निर्माणका लागि एकैरातमा करिब ५० लाख जम्मा गरिएको थियो । उनले दुईवटा कविता संग्रह निकालेका छन् भने दुईवटा गीति एल्वमसमेत प्रकाशनमा ल्याएका छन् । नर्दर्न आयरल्याण्ड मेडल, कुइन्स जुब्ली मेडल लगायतका ख्याति प्राप्त मेडलबाट सम्मानित पूर्व गोर्खा ५२ वर्षीय पुन गत एघार बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् ।

८. लेक्स लिम्बु
लेक्स लिम्बु नयाँ पुस्ताका जल्दाबल्दा युवा हुन् । पछिल्ला बर्षमा बेलायतमा हुर्कदै गरेका युवामाझ उनी निकै चर्चामा छन् । युट्युबमा छोटा छोटा जानकारीमूलक भिडियो राखेर जनजागरण गर्ने काम थालेका लिम्बु पछिल्लो समयमा एकजना खारिएका ब्लगरको रुपमा पनि परिचित छन् । उनको लेखनशैलीलाई नयाँ पुस्ताले निकै मन पराएको छ । तिनै युवाहरुको सक्रियतामा उनले कोशीबाढी पीडितहरुलाई सहयोग पनि जुटाए । वाकफर नेपाल, हेल्प नेपाल नेटवर्कलगायतका सामाजिक संस्थाकालागि सहयोग जुटाउन सकृय उनले गायक कुमार कान्छाको स्वाथ्य उपचारका लागि आर्थिक सहयोग पनि जुटाएका थिए । ‘लिभ फर चेन्ज’ भन्ने सानो समूह बनाएर नेपालका ग्रामीण स्कुलमा भौतिक साम्रगी वितरण गरेका लेक्सले सरस्वती शान्ति स्कुल गोर्खामा एउटा पुस्तकालय खोल्न मदत गरे । उनले नेपाली युवाहरुको क्षमता अभिबृद्धी गर्न खोजमुलक तथा बिचारमुलक लेख रचना लेख्दै आएका छन् । गएको १३ बर्षदेखि बेलायतमा बसोबास गर्दै आएका २१ वर्षीय लिम्बुले क्वीन मेरी युनिभर्सिटीबाट स्नातक गरेका छन् ।

९. विक्रम जोशी
एक लाख भन्दा बढी नेपालीहरु बसोबास गर्ने बेलायतबाट नेपालमा सिधा वायुसेवा सन्चालन गर्ने एउटा महत्वाकांक्षी योजना अघि सारेपछि युवा व्यवसायी विक्रम जोशी गत बर्ष चर्चामा आए। नेपाली इण्टरप्रेन्युअर्स टिम (नेट) एअरवेजका निर्देशक जोशीले शुरु गरेको यो परियोजनालाई बेलायतवासी नेपालीले निकै चासोका साथ हेरिरहेका छन् । व्यवसायी सुरेन्द्र श्रेष्ठ लगायतका साथीहरुको सहयोगमा जोशीले बेलायतका विभिन्न क्षेत्रमा आमनेपाली समुदायबीच सहभागितामुलक अन्तरक्रिया कार्यक्रम गर्दै परियोजना बारेमा जानकारी दिए । लण्डन-काठमाडौ सिधा हवाई सेवाबाट नेपालको पर्यटन बिकासमा ठूलो सहयोग पुग्ने उनको विश्वास छ । सामाजिक तथा परोपकारी कामहरुमा पनि समय खर्चने जोशी नेपाली युवा व्यवसायीहरुमाझ एक प्रेरक व्यक्तित्वको रुपमा पनि हेरिन्छन्। उनी पेशाले एकाउण्टेन्ट तथा सफल ब्यवसायी हुन ।

१०. अर्जुन गौतम
एकपछि अर्को परोपकारी कामहरु गरेर चर्चामा रहेको गुल्मी समाज युकेको नेतृत्व लिएपछि अर्जुन गौतम एकाएक चर्चामा आए । आशा अपांग केन्द्र गुल्मीको सहयोगार्थ संकलन भएको १६ लाख रुपैयाँ बोकेर गौतम आफै गुल्मी पुगका थिए । उनले समाजको विभिन्न पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै गुल्मी जिल्लामा तीन वटा एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । गुल्मी समाज युकेले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गुल्मी जिल्लामा हाल सम्म एक करोड भन्दा बढी रकम सहयोग गरिसकेको छ । तत्कालिन अध्यक्ष ओमप्रकाश थापा लगायतका गुल्मेलीहरुको सकृयतामा बेलायतमा ल्याइएको नौमति पञ्चे बाजाले समाजलाई राम्रै चर्चामा ल्यायो । सानै उमेरदेखि परोपकारी काममा रुचि राख्ने गौतमले पाटी, पौवा, प्रतिक्षालय, हेल्थ पोष्ट बनाउनसमेत सहयोग गरेका छन् । गत बीस बर्षदेखि बेलायतमा बस्दै आएका ४३ वर्षीय गौतम एकजना व्यवसायी पनि हुन् ।

विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, सर्वसाधारणबाट प्राप्त सुझावलगायतको मापदण्ड बनाएर ब्यक्तित्व चयन गरिएको बताएको छ ।

अनलाइनले सोही दिनको अवसर पारेर बेलायतमा रहेका विभिन्न सञ्चारकर्मी तथा बैद्धिक ब्यक्तित्वको सहभागितामा नेपाली मिडियाको सम्भवना र चुनौती बिषयक एक दिने गोष्टी गर्ने भएको छ । सो कार्यक्रममा भाग लिन आउन बेलायतमा रहेका सबै पत्रकारलाई अनलाइनले आग्रह गरेको छ ।

गत बर्ष मिस नेपाल सृष्टि श्रेष्ठ, मेजर रिटायर्ड, डम्बर घले, बेलायतका लागि नेपाली राजदूत डा. सुरेशराज चालिसे, अधिकारकर्मी ज्ञानराज राई, सोलिसिटर राजु थापा, गैरआवासीय नेपाली संघ यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, गायक विवेक श्रेष्ठ, तमुधी युकेका अध्यक्ष हुन मुच्छेत्र गुरुङ, समाजसेवी शान्ति गुरुङ र व्यवसायी नरेन्द्र कडेल चर्चित दस व्यक्तित्वमा पर्न सफल भएका थिए ।

दस व्यक्तित्वको चयन गर्न नेपालब्रिटेन डट् कम् को सम्पादकीय मण्डल र बेलायतका विभिन्न नेपाली सञ्चार माध्यममा कार्यरत पत्रकारको समूहले सहयोग गरेको थियो । चयनको मुख्य आधार बेलायतमा प्रकाशित पत्रपत्रिका, अनलाइन मिडिया, टेलिभिजन र इमेलबाट प्राप्त सुझावलाई आधार बनाइएको छ । ***

तपाईको प्रतिक्रिया