दुबई – गत २० जुन बिहीबारका दिन दुबईको डेरास्थित सरवाना भावन रेष्टुरेण्टको बिल्डिङमा व्यूटी फेस लेडिज सलुनको उदघाटन गरिएको छ । सो लेडिज सलुन ४ जना नेपाली महिलाहरुको लगानीमा खोलिएको हो ।
उक्त उदघाटन समारोहको प्रमुख अतिथिमा नेपाली महिला समिति युएइकी अध्यक्ष राधा ढकाल रहेकी थिइन् भने समारोहका अध्यक्षता व्यूटी फेस लेडिज सलुनकी संचालिका दिपा पाण्डेले गरेकी थिइन् । त्यसैगरी बिशेष अतिथिमा एनआरएनएका अध्यक्ष चन्द्र रोकाहा र अन्य अतिथिहरुमा डिएल शर्मा, कृष्ण ढकाल, विदुर रावत, प्रकाश पौडेल, प्रकाश राना, श्याम पोखरेल, रिमी र प्रकाश कोइराला रहेको उदघाटन समारोहलाई पत्रकार गीतामणि पाण्डेले संचालन गरेका थिए ।
नेपाली महिला समिति युर्एइकी अध्यक्ष राधा ढकाल, संचालिका दिपा पाण्डे र पार्टनर संगीता रोकाहाले बिधिवत पूजाआजाका साथ संयुक्त रुपमा रिबन काटेर उदघाटन गरेका थिए । युएइस्थित व्यूटीपार्लरमा कार्यरत महिलाहरुको संख्या उल्लेखनीय बृद्धि संगै नेपाली महिलाहरुको व्यावसाय पनि फस्टाउंदै गएको छ ।
आधुनिक जीवनशैली र नयां फेसनको दुनियासंगै महिलाहरु सजिने र सजावट गर्ने क्रम बढ्दो छ भने व्यूटीपार्लरको व्यावसायहरु पनि निकै फलिफापको रुपमा अगाडि आएको देखिन्छ । खासगरी युएइको परिपक्ष्येमा हेर्ने हो भने हरेक व्यवसाय क्षेत्रमा महिलाहरु अग्रसर रहेको पाईन्छ । स्मरण रहोस्, दिपा पाण्डे सिल्भर स्पून नेपाली रेष्टुरेण्टका संचालिका पनि हुन् ।
सो अवसरमा सम्पूर्ण उपस्थित अतिथिहरुले आ-आफ्ना मन्तव्य तथा शुभकामना दिएका थिए । जसमा मन्तव्य राख्नेहरुमा दिपा पाण्डे, संगीता रोकाहा, डिएल शर्मा, कृष्ण ढकाल, विदुर रावत, श्याम पोखरेल, चन्द्र रोकाहा, रिमी, प्रकाश कोइराला र राधा ढकाल रहेका थिए । ***









