वासिंटन डि.सी. स्थित पोटोम्याक पार्कमा आइतबार एक छुट्टै किसिमको पिकनिक भेला सम्पन्न भयो । नेपालको अशिक्षा, गरीवी तथा गलत संस्कारहरुको विरुद्धमा लड्दै असल समाजको निर्माणमा सहयोग पुरयाउन प्रसाई ट्रष्ट अमेरिकाले सो भेलाको आयोजना गरेको थियो । सो अवसरमा नेपालबाट अमेरिका आएर बसोबास गरिरहेका प्रसाईहरु, प्रसाईका आफन्त, नातेदारहरु र नेपालको विकासमा चासो राख्ने अन्य नेपालीहरुको उपस्थिति थियो ।
भेलामा बच्चाहरुले अप्रतियोगी भलिवल खेल र डोरी तानातान खेलमा सहभागिता जनाएका थिए भने बयस्कहरुले पनि डोरी तानातान र कबड्डी खेल खेलेका थिए । सो अवसरमा ट्रष्टका अध्यक्ष शिवराम प्रसाईले आफन्तहरुको एकताले डायस्पोरामा आर्थिक, सामाजिक तथा पेशागत विकासमा सहयोग पुग्नुको साथै नेपाल र नेपालीवीच सांस्कृतिक एकता कायम राख्नमा समेत महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।
ट्रष्टका सचिव अमर प्रसाईले संस्थाले संचालन गर्न लागेका अमेरिकी नेपाली समुदाय र नेपालका पिछडिएका समुदायलाई सहयोग पुरयाउने खालका कार्यक्रमहरुको बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा सानै उमेरमा पुस्तक प्रकाशन गर्ने बालक अनमोल सिटौला, नेपाल अमेरिका ब्युटी पिजेण्ट विजेता सुजिता बस्नेत, नायिका अनुपमा प्रसाई, प्रतिष्ठा प्रसाई, डा. मदन उप्रेती लगायतका प्रतिभाहरुको प्रसंशा गरिएको सो भेलामा संस्थाका सल्लाहकार विश्वबन्धु प्रसाई, गुणराज लुइटेल, अशोक ओली, डा. मदन उप्रेती, गरिमा प्रसाई, सावित्री सिंह कार्की एवं देवी सापकोटाले यस्ता कार्यक्रमहरुले आपसमा एकताको विकास हुने विचार ब्यक्त गर्नुभएको थियो ।
सो कार्यक्रमको सफलताको लागि इजरायलका लागि नेपाली राजदूत प्रल्हाद प्रसाई लगायत नेपाल र अमेरिका स्थित विभिन्न संघ संस्था र व्यक्तिहरुबाट शुभकामना प्राप्त भएको थियो । ***








