न्यूयोर्क- नेपाली संचार सन्जालले नेपाली काँग्रेसका पूर्व सभासद, पूर्व केन्द्रिय सदस्य तथा नेपाल परिवार नियोजन संघका पूर्व अध्यक्ष सुनिल भण्डारीसंग बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। न्यूयोर्कको ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको उक्त अन्तरक्रियामा काँग्रेस नेता भण्डारीले नेपालको समसामयिक बिषयमा आफ्नो धारणा राखेका थिए।
सन्जालका बरिस्ठ उपाध्यक्ष दिवाकर बागचन्दको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली जनसम्पर्क समिती न्यूयोर्क च्याप्टरका पूर्व संयोजक नबिन शेरचनले समेत सम्बोधन गरेका थिए।
मन्तव्यको क्रममा नेता भण्डारीले नेपाल अहिले अत्यन्तै अस्थिर र संक्रमणकालिन अवस्थामा रहेको, देशभित्रका राजनीतिक शक्तिहरु कम्जोर बन्दै गइरहेको र बिदेशी प्रभाव दिनप्रति दिन बढ्दै गएको खुलासा गर्दै त्यसले देशको राष्ट्रिय अखण्डता र स्वाभिमान कमजोर बन्न पुगेको बताए ।
“त्यसको समाधान भनेको निर्वाचनलाई स्वच्छ, निश्पक्ष र सबैले विश्वाश गर्न सक्ने निर्वाचनकोरुपमा आगामी निर्वाचनको वातावरण सृजना गरेर जनतालाई उत्साहकासाथ त्यसमा सहभागी गराउनु पर्दछ” नेता भण्डारीको भनाई थियो। “यदी निर्वाचन हुन नसकेको खन्डमा नेपालको अस्तित्व मै खतरा पर्दछ”, उनले अगाडि थपे- “त्यसैले यो निर्वाचन देशको अस्मितासँग जोडीएको छ। यसलाई प्रत्येक नेपालीले सफल बनाउने काममा आफ्नो भूमिका निर्बाह गर्नुपर्दछ।”
निर्वाचन भएन र जनताको सहभागीता भएन भने अधिनायकबादी शक्तिहरुले चलखेल गर्ने बताएका नेता भण्डारीले उनीहरुको शक्ति भनेको जनता हैन भन्दै त्यस्तो शक्ति सेना या बिदेशी शक्ति हुन सक्ने र त्यस्तो शक्तिबाट जन्मिने व्यक्ति पहिलेको राजतन्त्रभन्दा खतरानाक हुने ठोकुवा गरे ।
नेपालमा राजनीतिक दलहरुकोबिचमा संयुक्त सरकार बन्न नसक्नु सबैभन्दा ठूलो कमजोरी बताएका नेता भण्डारीले आफू र अरु थुप्रै काँग्रेसीहरु यदी प्रधानन्यायाधीस प्रधानमन्त्री बन्ने हो भने पहिले प्रधानन्यायाधीस पदबाट राजिनामा दिनुपर्ने राय भएको उल्लेख गरे ।
उता संघीयताको सवालबारे आफ्नो र पार्टीको धारणा स्पस्ट पार्दै नेता भण्डारीले भने- “संघीयता नेपालका सबै दलहरुले स्वीकार गरेको कुरा हो। कस्तो किसिमको संघीयता भन्ने सवालमा काँग्रेसको स्पस्ट धारणा के छ भने जातीय आधारमा कुनै किसिमको संघीयताको बिभाजनले देशको समस्टिगत राष्ट्रिय एकतालाई बल पुर्याउँदैन, त्यसले कम्जोर बनाउँछ। जातको नामले बन्ने नामसँग केही सरोकार छैन तर बिशेष अधिकार कुनै एउटा बर्गलाई हुने हो भने त्यसले झन बिभेद सृजना गर्छ। त्यसैले जातीयताको आधारमा संघीयता हैन, सबैले आफ्नो अधिकारलाई सुनिश्चित गर्न सक्ने, उपभोग गर्न सक्ने र त्यसमा आफ्नो सहभागीता जनाउन सक्ने किसिमको संघीयता हुनु पर्दछ।”
नेता भण्डारीले आफू नेपाल परिवार नियोजन संघको अध्यक्ष हुँदा २०५२/५३ सालतिर गर्भपतन सम्बन्धी पहिलो बिधेयक संसदमा पेश गरेको र त्यो पछि संसदबाट पारित भई नेपालको मुलुकी ऐनमासमेत संशोधन हुँदा निरपराध जेल परेका कैयौं नेपाली महिलाहरु जेल मुक्त भएको उल्लेख गरे। उक्त कानूनका कारण अहिले नचाहेको अवस्थामा कानूनले नै गर्भपतन गर्न मिल्ने अवस्था भएको र त्यसले अहिले महिला र बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार र पारिवारीक आर्थिक अवस्थामा ठूलो परिबर्तन आएको बताए । सन्जालकी कोषाध्यक्ष मनु लोहोरुङ राईले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् भने सन्चालन सन्जालकी उपाध्यक्ष निमा लामाले गरेकी थिइन् ।
स्मरण रहोस् सन्जालले यस अघि गत जनवरी २७ मा नेपालकी चर्चित नायिका रेखा थापासँग यस्तै बिशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो भने आगामी मई ४ तारिक न्यूयोर्कमा क्रियाशील ६ जना नेपाली वकिलहरुसँग आप्रबासी समस्या र समसामयिक कानूनी बिषयमा बिशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। ***








