नयाँ दिल्ली– भारतस्थित प्रवासी नेपालीहरूले लोकतन्त्र दिवस मनाएका छन् । नेपाल तरुण दल भारत शाखाले नयाँ दिल्लीमा लोकतन्त्रको विकासमा युवा भूमिकाबारे छलफल कार्यक्रम गरेको छ ।भारतमा रोजगारी र अध्ययनका सिलसिलामा रहेका सयौं नेपालीहरू सहभागी कार्यक्रममा लोकतन्त्रको विकासमा युवाहरूको भूमिका अझै बढी आवश्यक भएको भनाई राखे । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले अतिवादी र हिंसाका पक्षधरहरूका कारण प्राप्त लोकतन्त्र खतरामा पर्ने सम्भावना अझै रहेकाले सचेत हुनुपर्ने बताए । देशमा भयको शासन अझै नहटेकाले लाखौं नेपाली विदेशिन वाध्य भइरहेको उल्लेख गर्दै सुरक्षाको सुनिश्चितता प्राथमिक भएको बताए ।
कार्यक्रममा नेपाल तरुण दल भारत शाखाका संयोजक मोहनबहादुर शाक्यले लोकतन्त्रका कारण नेपाली युवाहरू सचेत र चिन्तनशील रहेको औल्याए । देशमा आर्थिक र सामाजिक क्रान्तिका लागि युवाहरूको भूमिका रहने उल्लेख गर्दै त्यसका लागि प्रवासमा रहेका युवाहरूले आ आफ्नो स्थानबाट योगदान गर्ने बताए ।
नेपाल तरुण दलका केन्द्रीय सदस्य नारायण भट्टराईले युवाहरूलाई दिग्भ्रमित पार्न खोज्नेहरूका कारण समस्या आइरहेको बताए । उनले नयाँ पीढी सचेत र जागरुक भइसकेकाले अब कसैले झुक्याउने प्रयास गर्नु उसैका लागि आत्मघाती हुने चेतावनी दिए ।
हिंसा दक्षिण एसियाको ठूलो समस्या : भाजपा सांसद ठाकुर
यसैगरी लोकतन्त्र दिवसको अवसरमा दक्षिण एसियामा युवा र लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै भारतीय लोकसभाका सांसद अनुराग ठाकुरले दक्षिण एसियामा विद्यमान हिंसा सबैभन्दा ठूलो समस्या रहेको बताएका छन् । उनले आतंकवाद र अतिवादका कारण देखापर्ने हिंसाविरुद्ध एकजुट भई तिरस्कार गर्नुपर्नेमा जोड दिए ।
दक्षिण एसियाली देशहरूको समस्या साझा रहेको उल्लेख गर्दै नेपाल हिंसाको चपेटाबाट मुक्त नहुँदा आर्थिक क्रान्तिको बाटोमा अवरोध उत्पन्न भएको भन्दै आफ्नो दल भारतीय जनता पार्टीले हिंसाका पक्षधर र त्यस्तो गतिविधि गर्नेहरूलाई कहिले समर्थन र सहयोग नगर्ने बताए ।
भारतीय जनता पार्टीनिकट युवा संघको समेत अध्यक्ष रहेका उनले दक्षिण एशियामा आतंकवाद लोकतन्त्रको विकासमा बाधक रहेको औल्याए । उनले भने, ‘भारत होस् या नेपाल दुवै हिंसाको समस्यासँग जुधिरहेछन् ।’ नेपालमा माओवादीको हिंसा अझै नहटेको भन्दै आलोचना गरेका ठाकुरले कुनै प्रकारको हिंसा दक्षिण एसियामा टिक्न नसक्ने बताए ।
नेपालको माओवादीप्रति कडा रुपमा प्रस्तुत भएका उनले हिंसाले नेपाललाई सामाजिक र आर्थिक रुपमा धेरै पछाडि धकेलेको बताए । यस क्षेत्रको युवाहरू तल्लो तहको जनतासम्म पुगेर हिंसाविरुद्ध सचेतना बढाउनुपर्ने बताए ।








