भक्तपुर- तीन दिनदेखि निराहार बसेका मध्यपुरठिमी-१ बोडेका जुजुभाइ बासँ श्रेष्ठले यस बर्ष सोमबार पाचौ पटक जिब्रो छेडाएका छन् ।
३२ बर्षीय उनले थकान र भोक बिर्सदै दर्शकका अगाडि हसिलो मुहारमा एक फिट लामो फलामको सियोले जिब्रो छेडाए ।
ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका उनी एक छोराको बाबु हुन् ।
परम्परादेखि मनाउँदै आएको जात्रालाई लोप हुन नदिन आफूले जिब्रो छेड्ने कार्यलाई निरन्तरता दिएको उनले बताए ।
जिब्रो छेड्ने सियो दुई साताअघि बनाइएको हो । फलामको एक फिट लामो सुइरोलाई एक साता गि्रजमा र अर्को साता तोरीको तेलमा डुबाएर राखिएको थियो । एक फिट लामो सुइरो प्रत्येक वर्ष स्थानीय धर्मलाल नकर्मीले बनाउने गरेका छन् । बिस्केट जात्राको छैठौं दिन भक्तपुर बोडेमा यो जात्रा मनाइन्छ ।
किंवदन्ती अनुसार दुःख दिने राक्षसलाई पक्रेर जिब्रो छेडी सहर घुमाएको सम्झनामा जात्रा मनाउन थालिएको हो । जात्रा मनाउँदा महामारी रोग नलाग्ने, देशमा अनिकाल हुनबाट बचाउने, अनावृष्टि र अतिवृष्टि हुन नदिने, बाहिरी देशबाट आएका पर्यटकलाई पाल्न र धर्म चेष्टा बढाउन सक्षम हुने विश्वास गरिन्छ ।











