क्वालालम्पुर – नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले नेपालका मुख्य दल भनिने माओवादी, काँग्रेस र एमालेले आगामी चुनावमा ३ सीट भन्दा बढीमा नजित्ने दावी गरेका छन् । शेर्पाले जातीय पहिचानसहितको संघीयतालाई स्वीकार गर्न नसक्ने पार्टीलाई नेपाली जनताले आगामी निर्वाचनमा तिरस्कार गर्ने बताएका छन् ।

आइतबार क्वालालाम्पुरमा आदिवासी जनजाती महासंघको प्रथम अधिवेशनको उदघाटन सत्रलाई सम्वोधन गर्दै शेर्पाले २४० वर्ष देखि शोषणमा परेका उत्पीडित जनजातीको भावनामाथि दलहरुले खेलबाड गरको बताए । यस अघि जनजातीकै मुद्धालाई बोकेर चुनाव जितेको तर सत्तामा पुगे पछि जनजातीलाई नै विर्सिएकोले त्यसको परिणाम राम्रो नहुने उनले बताए । “अब संघीयता विरोधीले गाँउ पसेर भोट माग्ने अधिकार छैन” उनले अगाडि भने ।
नेपाली जनता अशिक्षित भएकोले संघीयताको बारेमा दलहरुले भ्रम फैलाएको बताउँदै महासचिव शेर्पाले जनजातीहरुलाई कहिल्यै पनि शासक बन्न नदिएको जिकिर गरे । १० वर्ष जनयुद्ध लडेको माओवादीले जातीय पहिचानसहितको संघीयताका लागि कार्यकर्तालाई बन्दूक बोकाएर अहिले धोका दिएको उनले आरोप लगाए । “एमाले काँग्रेसका कार्यकताले पार्टी परित्याग गर्दा नेतालाई कालो झण्डा देखाउँछन तर माओवादीका कार्यकर्ताले १० बर्ष बोकेको बन्दुक वावुराम र प्रचण्डको कञ्चटमा तेर्स्याएर पार्टी परित्याग गर्नेछन्” उनको भनाई थियो । ५ वर्ष सम्म संविधान बनाउन नसक्ने नेताहरुले हाल कसरी खिलनाथ रेग्मीलाई प्रधानमन्त्री वनाएँ त्यसको जवाफ जनताले माग्ने उनको भनाई थियो । उनले अगाडि थपे “संविधानको कुन धारा प्रयोग गरेर खिलनाथ प्रधानमन्त्री भए त्यसको जवाफ ठुला राजनैतिक दलहरुले दिनैपर्छ ।”
शासन सत्तामा आफुमात्र रहने ब्राम्हणवादी सोच बोकेकाहरुले गर्दा आजसम्म देश अगाडि बढ्न नसकेको महासचिव शेर्पाले बताए । पद्म शमशेरको शासनकाल देखि एमाओवादी सम्म आउँदा प्रचण्डदेखि टोपबहादुर रायमाझीसम्म ब्राम्हणवादी सोच रहेको उनले बताए । एमालेमा झलनाथ खनाल देखि योगेश भट्टराई, कांग्रेसका सुशील कोइरालादेखि गगन थापासम्मको चिन्तनमा कुनै पनि फरक नभएको उनको भनाई थियो ।
सत्तामा भएका ठुला दलहरुको अकर्मण्यताको कारण संविधान सभा विघटन भएको बताउँदै उनले आदिवासी जनजाति महासंघ संविधान सभा पुनर्स्थापनाको पक्षमा रहेको बताए । संविधानसभाको म्याद नसकिंदै विघटन गरिएकोले पुनर्स्थापना गर्ने धेरै आधारहरु भएकोले चुनाव घोषणा गरी देशको अर्थतन्त्र रित्याउने काम गर्न नहुने उनले बताए । जनजातीहरुको पहिचान स्वीकार गरी जातीय पहिचान सहितको संविधान लेख्न सकिएन भने नेपाल टुक्रिन सक्ने समेत उनको भनाई थियो । ***








