Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
tucl-300x196काठमाडौं- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयबाट वर्षौंअघि लगिएका झन्डै आठ हजार थान पुस्तक अझै फिर्ता गरिएका छैनन् । पुस्तकको जरिवाना शुल्कबापत मात्रै पुस्तकालयले कम्तीमा साढे तीन करोड उठाउनु पर्नेछ ।
 विभिन्न क्षेत्रमा कार्यरत र समाजमा ‘वरिष्ठ व्यक्तित्व’को सम्मान पाएकाहरूले पनि पुस्तक टप्काउने गरेका छन् । पुस्तक फिर्ता नगर्नेहरूलाई पटक–पटक पत्राचार गर्नुका साथै फोनमार्फत फिर्ता गर्न आग्रहसमेत गरिएको छ । तर, कतिपय ठाउँबाट त पुस्तकालयका कर्मचारीले उल्टै खप्की खानुपर्छ ।
पुस्तकालयका अनुसार ०३१ सालदेखि लगिएका पुस्तक अहिलेसम्म फिर्ता गरिएका छैनन् । पछिल्लोपटक पुस्तकालयले ०६० सालमा पुस्तक फिर्ताका लागि पत्र पठाएको थियो । पुस्तकालयले ०५७ सालदेखि प्रतिदिन एक पुस्तकको जरिवाना शुल्क एक रुपियाँ लिने गरेको छ । त्यसअघि प्रतिदिन १० पैसा जरिवाना लिने गरेको थियो । त्रिवि पुस्तकालयमा ३ लाख ७५ हजार पुस्तक छन् ।
पुस्तकालयका अनुसार ०३१ सालयता र ०५७ उता लगिएका ७ हजार ८ सय ५० थान पुस्तक अहिलेसम्म फिर्ता भएका छैनन् । ती पुस्तकको ०५७ सालयताको जरिवाना मात्रै करिब साढे तीन करोड हुन्छ । पुस्तक फिर्ता नगर्नेमा विभिन्न दलका नेता, प्राध्यापक, कानुन व्यवसायी, कलाकार र पत्रकारसमेत छन् । ‘पुस्तक फिर्ता गर्न दुईपटक त हातमा पत्र नै थमाएका थियौँ तर अझै फिर्ता गर्दैनन् । अहिले त पत्र पठाउन पनि छाडेका छाँै,’ त्रिवि पुस्तकालयका प्रमुख जनार्दन ढुंगानाले सौर्यसँग भने ।
अध्ययन गर्न भनेर लगिएका पुस्तक फिर्ता नगर्नेहरूको सूचीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनशक्ति पार्टीका सह–अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, कांग्रेस नेता लक्ष्मण बस्नेत मानव अधिकारकर्मी सुदीप पाठक, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, मुकुन्द बराल, कलाकार कृष्ण मल्ल, त्रिविका पूर्वप्राध्यापक बिनु लोहनीलगायत छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०३२ सालमा ‘नेप्लिज रिलेसन’ नामक पुस्तक लगेका थिए । जुन अहिलेसम्म फिर्ता गरेका छैनन् । उनले किताबको जरिवानाबापत करिब ५ हजार तिर्नुपर्ने छ । त्यस्तै, कांग्रेस नेता बस्नेतले ‘नेपाली लिपि विकास’ नामक पुस्तक लगेर फिर्ता गरेका छैनन् । पुस्तकालयले पुस्तक फिर्ता गर्न गरेको आग्रहलाई उनले अटेर गर्दै आएका छन् ।
त्यस्तै, ०३३ सालमा दुईवटा पुस्तक लगेका राजपा नेता लोहनीले पनि अहिलेसम्म फिर्ता गरेका छैनन् । उनले ‘रिजनल कन्फ्रेन्स अन वाटर’ र ‘इकोनोमिक्स कमिसनल फर द एसिया’ नामक पुस्तक लगेका थिए । उनले दुवै पुस्तकको जरिवाना कम्तीमा पनि ९ हजार रुपियाँ तिर्नुपर्ने छ ।
धेरै पुस्तक लगेर फिर्ता नगर्नेमा कलाकार कृष्ण मल्ल र त्रिविका पूर्वप्राध्यापक बिनु लोहनीको नाम अग्रपंक्तिमा छ । उनीहरूले पुस्तकालयबाट तीन/तीन थान पुस्तक लगेर वर्षौंदेखि फिर्ता गरेका छैनन् । लोहनीले त्रिविमा कार्यरत रहेकै बेला पुस्तक लगेका हुन् ।
पुस्तकालयका अनुसार कलाकार मल्लले ‘भारतको इतिहास’, ‘द वल्र्ड स्टोन एज’ र ‘आर्ट अफ एक्टिङ’ नामक कब्जा गरेका छन् । त्यस्तै, पूर्वप्राध्यापक लोहनीले ‘इकोनोमिक पोलिसिज् टुवार्डस् लेस डेब्लोपमेन्ट कन्ट्रिज’, ‘लिडिङ इस्युज इन इकोनोमिक डेब्लोपमेन्ट’ र ‘स्टडिज इन अफ्रिकन इकोनोमिक डेब्लोपमेन्ट’ नामक पुस्तक ‘झ्वाम’ पारेका छन् ।
वरिष्ठ अधिवक्ता हरिहर दाहालले ‘२०आँै शताब्दी पूर्वाद्र्धका केही आधुनिक कविता’ र ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान आधुनिक नेपाली कविता’ नामक पुस्तक फिर्ता नगरेको पनि वर्षौं बितिसकेको छ । उनले २८ वर्षअघि सो पुस्तक लगेका थिए । त्यस्तै, अर्का अधिवक्ता मुकुन्द बरालले ‘इन्ट्रोडक्सन अफ डेमोग्राफी’ र ‘सूक्ष्म तथा बृहत् अर्थशास्त्र’ नामक पुस्तक लगेका छन् ।
मानवअधिकारकर्मी सुदीप पाठकले ‘राहुल सांस्कृत्यायन ऋग्वेदिक वाय’ र ‘पोलिटिकल थट’ नामक पुस्तक फिर्ता नगरेको २४ वर्षभन्दा बढी भयो । उनले ‘राहुल सांस्कृत्यायन ऋग्वेदिक वाय’ सन् १९८१ र ‘पोलिटिकल थट’ सन् १९८८ मा लगेका थिए ।
पुस्तकालयले पटक–पटक फोन गरेर पनि पुस्तक फिर्ता गर्न आग्रह गर्ने गरेको छ । तर, कतिपयले त फोनसमेत उठाउन छाडेका छन् । ‘अब त पुस्तक बुझाउनुस् भनेर फोन गर्न पनि लाज लाग्छ, कतिपयले त फोन उठाउनै छाडे,’ पुस्तकालयको सर्कुलर शाखाकी कर्मचारी सविता केसीले भनिन् ।
पुस्तक फिर्ता हुन छाडेपछि पुस्तकालयले अहिले भने कडाइ गरेको छ । पुस्तकालयले विद्यार्थीलाई लाइब्रेरी क्लियरेन्स नहुँदासम्म ट्रान्सक्रिप्ट उपलब्ध नगराउन परीक्षा नियन्त्रण कार्यालयलाई पत्राचार गरेको छ ।

तपाईको प्रतिक्रिया