Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026
-देबकी विष्ट
काठमाडौं- सार्वजनिक त के सरकारी कार्यालयकै शौचालयका भित्तामा अश्लील शब्द मात्र होइन, यौनप्रस्ताव नै कोरिएपछि कर्मचारी हैरान छन् । काठमाडौं महानगरपालिकाको भुइँतलास्थित सहरी विकास विभागछेउको महिला शौचालयमा मोबाइल नम्बरसहित यौनप्रस्ताव कोरिएको देखेपछि महिला कर्मचारीलाई हैरानी भएको छ ।
पहिलोपटक त्यस्तो प्रस्ताव लेखिएको देखेपछि महानगरपालिकाका महिला कर्मचारी झस्केका थिए । विभागमा भएका आठ महिला कर्मचारी उक्त शौचालय प्रयोग गर्छन् । १५ वर्षदेखि भान्से काम गर्दै आएकी हीरा गिरीले यस्तो यौनप्रस्ताव पहिलोपटक कोरिएको देखेको जानकारी दिँदै यो प्रस्ताव कोरिएको लामो समय भएको बताइन् । ‘आम्मै कहिले देख्न नपरेको कुरा देखेर कस्तो लाज लाग्यो । ट्वाइलेट जानै अप्ठ्यारो लाग्छ । त्यही भएर नलेखेको ट्वाइलेटमा हामी छिर्छौं,’ उनले भनिन्, ‘माथिल्लो लेबलमा यस्तो लाजमर्दो कुरा कसले गर्छ ?’
नक्सा दर्ता विभागमा दुई वर्षदेखि कार्यरत शर्मिला वज्राचार्यले शौचालयमा लेखिएको यौनप्रस्तावबारे हाकिमलाई भन्न नसकेर आफैँले मार्कर लगेर ‘भल्गर’ लाग्ने शब्द मेटाएको बताइन् । ‘हाकिमलाई भन्नै लाज छ कसरी अरूलाई बताउने ?’ उनले भनिन् ।
यो समस्याबाट विश्वभाषा क्याम्पस पनि अछुतो छैन । हजारौँ व्यक्तिले विभिन्न भाषाको ज्ञान लिने ठाउँको शौचालय भने लाजमर्दो छ । अंग्रेजी भाषा पढ्दै गरेकी नेहाले ‘स्टाफ’हरूको शौचालय भने सफा रहेको बताइन् । उनी प्राय: स्टाफहरूकै शौचालय प्रयोग गर्दिरहिछन् । पुरुष शौचालयदेखि महिला शौचालयसम्म अश्लील शब्दले भरिएका छन् । पुरुष शौचालयमा त केटीको फोन नम्बर पनि उल्लेख छ । त्यस्तै, नेपाल ल क्याम्पसको शौचालयको अवस्था पनि उस्तै छ । महिला शौचालयमा पेन्सिलले लेखेका शब्द सहजै देख्न सकिन्छ । क्याम्पस परिसरमा छिर्दा महिला शौचालय बाटोनेरै परेका कारण त्यहाँ धेरै अश्लील शब्द लेखेको पाइन्न । नेपाल प्रज्ञाभवनको शौचालयमा मार्करले लेखेका यौनप्रस्ताव र सम्पर्कका लागि इ–मेल ठेगाना लेखिएको छ । महिला शौचालयको ढोकापछाडि र पुरुष शौचालयको ढोकापछाडि पनि यस्ता अश्लील शब्द लेखिएका छन् ।
कर्मचारीले नै बह पोखेका हुनसक्छन्
लालबहादुर जिसी, समाजशास्त्री
महिला शौचालयमा पुरुषको र पुरुष शौचालयमा महिलाको जाने हिम्मत सामान्यत: हुँदैन । गोप्य स्थलको खोजी गर्दै हिँडेका ‘टिनएजर’ले यौनसम्बन्धी आफ्ना कुण्ठा शौचालयमा पोख्न सक्छन् । अर्कातर्फ सरकारी कार्यालयका शौचालयमा कर्मचारीले नै पनि आफ्ना मनका बह पोख्न सक्छन् । यौनसम्बन्धी भावना अरूसँग बाँड्न नसक्ने व्यक्तिले गोप्य स्थानको फाइदा उठाउन सक्छन् । सरकारी कार्यालयका महिला शौचालयमा बाहिरका मान्छेले लेख्न सक्दैनन् । कर्मचारी जसले आफ्नो परिचय कुन्ठाएर, लिंग परिवर्तन गरेर यौन शब्दद्वारा कसैप्रति आक्रोश पोख्छन् । लभ अफेयरमा परेका कलेजका विद्यार्थीले आफ्नो शौचालयमा पनि यस्ता अश्लील भावना पोख्न सक्छन् ।
सूचना प्रविधिको विकासपछि यौनविकृतिमा कमी आएको छ । केही उमेर समूहकाले सूचनाप्रविधिको उपयोग गरी यौनतृष्णा मेटाउँछन् । यस्ता कुरामा सरकारी कार्यालय होस् वा प्राइभेट सेक्टर त्यहाँ कार्यरत कर्मचारीलाई समेत यौन शिक्षासम्बन्धी ओरिएन्टेसन दिनुपर्छ ।
महिलालाई होच्याउने शब्द हुन्छन्
नीति खनाल, समाजशास्त्री
यस्तो विषयमा यही नै भन्न गाह्रो छ तापनि यौन भन्ने विषयमा हाम्रो समाजमा खुलेर कुरा गर्न मिल्दैन । यौन शब्दलाई स्वस्थ रूपले प्रस्तुत गर्न सिकिएको छैन । शौचालयमा लेखिएका यौनसँग सम्बन्धित अश्लील शब्दलाई यही उमेर समूहकैले लेखेको भन्न सकिँदैन । यो जुनसुकै समूहका व्यक्तिले पनि लेख्न सक्छ । यो गोप्य स्थान भएका कारण पनि मान्छेले व्यक्तिगत कुरा पोख्न सक्छन् । बढी त महिलालाई होच्याउने शब्द राखिएका हुन्छन् । कोही यस्ता कुरा देखेर तर्सिन्छन् भने कसैले आनन्द पनि लिएका हुन्छन् । यसरी लेख्नु ठीक होइन । यौन कुतूहलता समाधान गर्ने ठाउँ हुनुपर्छ । विद्यालय तथा कलेजमा स्वस्थ यौनशिक्षाबारे खुलेर बहस हुनुपर्छ । यौनशिक्षा अर्थात् यौनबारे बच्चालाई समेत कुतूहलता हुन्छ तर फरक ढंगले । यस्ता समस्याको सही समाधान गर्न सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया