वीरगन्ज-मधेसी जनतालाई अधिकार नदिए देश टुक्रयाउने धम्की दिने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संसदीय विकास कोषको रकम उनका छोराले हिनामिना गरेका छन् ।सभासद् हुँदा कर्णले राज्यको ढुकुटीबाट चार वर्षमा चार लाख रुपियाँ लिएका छन् । कर्णले सञ्चालन गर्दै आएको नारायणी ल च्याम्बरमा कार्यरत व्यक्तिको सहभागितामा आफ्नै छोरा सुधीर कर्णको अध्यक्षतामा उपभोक्ता समिति बनाएर कोषको पैसा हिनामिना गरिएको हो ।
कर्ण सभासद् हुँदाको संसदीय प्रतिनिधि पनि छोरा सुधीर नै थिए । नारायणी ल च्याम्बरभन्दा २५ किलोमिटर पश्चिममा रहेको जानकीटोला र १४ किलोमिटर पश्चिममा रहेको पोखरियामा सिलाइकटाइको तालिम सञ्चालनका लागि छोरा अध्यक्ष रहेको उपभोक्ता समिति बनाएर रकम हिनामिना गरिएको हो ।
छोरा सुधीर दुवै गाउँका बासिन्दा होइनन् तर त्यस गाउँमा गठित उपभोक्ता समितिका अध्यक्ष भएर उनले तीन लाख रुपियाँ लिएको पाइएको छ । प्रतिफल प्राप्त गर्न उपभोक्ताबीचबाटै समिति बन्नुपर्ने प्रावधान छ तर त्यसो नगरी आफ्नै ल च्याम्बरमा कार्यरत कानुन व्यवसायी र तारेख बुझ्ने बुझाउनेहरू राखेर मधेसी जनताको हितमा राज्यले विनियोजन गरेको कोषमा सहअध्यक्ष कर्ण र उनका छोराले मनपरी गरेका छन् ।
पर्सा जिल्लाको तीन गाविसमा आयमूलक तालिम सञ्चालन गर्नका लागि बनाइएको समितिमा सुधीर अध्यक्ष, उपाध्यक्ष रामप्रवेश गिरी, सचिव मुमताज अहमद र सदस्यहरूमा दीपेन्द्र कर्ण, अजय श्रीवास्तव, योगेश मल्लिक र मुन्ना सिंह छन् । समितिमा रहेका सबै कर्णको ल च्याम्बरका कारिन्दा हुन् । यही समितिको नाममा आर्थिक वर्ष ०६७/६८ मा तीन लाख रुपियाँ लिइएको थियो । जिल्ला विकास समितिमा तालिम सम्पन्न भएको किर्ते कागजात पेस गरेर राज्यकोष दुरुपयोग गरिएको पाइएको हो । पोखरियाको एउटै वडाका सहभागीबीचमा तालिम सञ्चालन गरिएको किर्ते कागज बनाएर पेस गरिएको छ ।
तर सुधीरले आफू पिताको प्रतिनिधि भएको भन्दै तीन लाख रुपियाँ नझिकेको प्रतिक्रिया दिए । उनले विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणको नाममा ६० हजार रुपियाँ लिएका थिए । उनले आफूले ६० हजार रुपियाँ पनि नलिएको दाबी गरे । तर जिल्ला विकास समिति पर्साको अभिलेखमा उनैका नाममा रकम निकासा भएको र त्यसमा उनको दस्तखत रहेको छ ।
लक्ष्मणलाल कर्णको प्रतिनिधिका रूपमा उनले संसदीय विकास कोषको रकममा आफ्ना मान्छेको नाममा झिकेर दुरुपयोग गरेको हुन सक्ने भएकाले छानबिन गरिनुपर्ने माग उठेको छ । राज्यकोषमा कर्णको रजाइँ जिल्ला विकास समिति पर्साको अभिलेख सार्वजनिक भएपछि खुलासा भएको हो ।
संसदीय विकास कोषको रकम खर्चेर कर्ण ससुराली घुम्न गएको उनीनिकटका व्यक्तिहरूले बताए । छोरा सुधीर कर्णको मामलामा सहअध्यक्ष कर्णले धृतराष्ट्रको जस्तो भूमिका निर्वाह गर्ने गरेको च्याम्बरमै कार्यरत एक कर्मचारीले बताए । ज्ञानेन्द्र शाहले शाही ‘कू’ गरेपछि वीरगन्जको माईस्थानको खुलासभामा सम्बोधन गर्दै कर्णले राजाको शासनकालमा मधेसी जनताको स्वाभिमान उच्च हुने भनेका थिए । उनको यो भनाइ आज पनि पर्सामा मधेसी नेताबीचमा चर्चा भइरहन्छ । त्यतिबेला उनी शाही सरकारका मन्त्री बद्रीप्रसाद मण्डलको पार्टीका सहअध्यक्ष र सबैभन्दा निकटका सहकर्मी पनि थिए ।








