Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026
काठमाडौं- नेपाली सेनामा रहँदा अमलदार गंगाहरि न्यौपानेले सरकारी कागजात तथा दस्तखत किर्ते गरेको प्रमाणित भएपछि उनको जागिर मात्र गएको थिएन, सैनिक अदालतले जेल चलानसमेत गर्‍यो । तर जेलभित्रै बसेर पनि उनले किर्ते गर्न छाडेनन् । उनै न्यौपाने पुनः किर्ते कागजात बनाई सुन्धारास्थित केन्द्रीय कारागारबाट भाग्न सफल भएका छन् । उनी -किर्ते कागजपत्रबाट) छुटेपछि कारागारले बोधार्थ सैनिक अदालतलाई पत्राचार गर्दा नक्कली कागजपत्र बनाएर छुटेको खुलासा भएको हो । कारागारका जेलर भरत पौडेलले सबै कानुनी प्रक्रिया पूरा गरेर आएपछि न्यौपानेलाई रिहा गर्न आदेश दिएको बताए । ‘सबै कागजपत्र थिए, त्यसैका आधारमा छाडिएको हो, पछि सेनाको अदालतलाई पत्राचार गरेपछि मात्र ती कागज नक्कली भएको थाहा पाइयो,’ उनले भने, ‘कानुनी भाषा मिलेपछि छाडिएको थियो ।’
 सिन्धुली रानीबास घर भएका न्यौपाने भदौ ११ गते कैद मिनाहाको नक्कली कागज बनाएर जेलरलाई दिँदै कारागारबाट छुटेका थिए । यसरी उम्केका उनलाई शनिबार केन्द्रीय अनुसन्धान ब्युरोले सुन्धारास्थित चितवन गेस्ट हाउसबाट पक्राउ गरेको छ । उनले सेनामै कार्यरत एक सैनिक, श्रीमती, मामाका छोरा र कानुन व्यवसायीलाई समेत प्रयोग गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् । सैनिक कर्मचारी र वकिलबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘पुनरावेदन अदालतले रिहाइ गर्दा कस्तो पत्र लेख्छ भन्ने सल्लाह वकिलबाट लिएको पाइएको छ,’ ब्युरोका अधिकारीले भने । नेपाली सेनाका उपरथी निरेन्द्रप्रसाद अर्यालको नाम र हस्ताक्षर राखेर सैनिक अदालतको फैसलामा त्रुटि भएकाले त्यसलाई सच्याएर पठाएको बेहोरा किर्ते पत्रमा उल्लेख छ । नेपाली सेनाको सक्कलीझैं देखिने ‘लेटर प्याड’ बनाएर उनले ‘अति जरुरी’ उल्लेख गरेका थिए । पत्र संख्या २१३८, प्राड २३२ लेखिएको पत्र भदौ ११ मै जारी भएको बनाएको थियो । त्यसमा ‘कैद मुक्त गराइदिनु हुन’ बेहोरा उल्लेख छ । त्यसमा न्यौपानेको अनुशासन तथा आचरणसम्बन्धी मुद्दामा समरी जनरल सैनिक अदालतले असार १३ मा गरेको फैसलामाथि पुनरावेदन हँुदा कैद सजाय भक्तान गरिसकेको उल्लेख छ ।
पुनरावेदनले सजायमा कटौती गरेको उल्लेख गर्दै पत्रमा ‘थुनामा रहेको मितिबाट गणना हुने गरी ३ महिना कैद र सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्न निर्णयसहितको आदेश भएको हुँदा प्रतिवादी पुर्पक्षका लागि थुनामा रहेको मिति ०६९।२।११ गतेबाट गणना हुने हुँदा निजको कैद भुक्तान भदौ ११ गते नै सक्ने भएकाले प्रतिवादीलाई आजकै मितिमा त्यस कारागारको नियमअनुसार मुक्त गरिदिनु भई यथाशीघ्र अदालतमा जानकारी पठाउन हुन आदेशानुसार अनुरोध’ उल्लेख छ ।
 रक्षा मन्त्रालय कानुन शाखा, कार्यरथी विभाग (प्राड विभाग) जंगीअड्डालाई बोधार्थ गराइएको समेत उल्लेख छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार न्यौपाने सेनामा रहँदा पनि सरकारी कागजात किर्ते गरेकै अभियोगमा कारबाहीमा परेका थिए । उनलाई सेनाले कोर्ट मार्सल गरेर ०६९ जेठ ११ देखि गणना हुने गरी ३ वर्ष कैद र जागिरबाट बर्खास्त गरेको थियो । स्रोतका अनुसार न्यौपानेका ३ वटी श्रीमती छन् । तीनै जना श्रीमतीलाई व्यवस्थापन गर्न उनले सेनाका अधिकृत र कार्यालयको नक्कली कागजपत्र बनाउने गरेका थिए । सेनामा रहँदा स्थापति निर्देशनालयका जर्नेल कर्णेलको छाप, निर्देशनालयको लेटरप्याड, बाहिनी र गणहरूको समेत नक्कली छाप र प्याड बनाएका थिए । ‘एक/दुई पटक त गल्ती गर्‍यो भनेर माफी दिइएको थियो,’ न्यौपानेले लेटरप्याड दुरुपयोग गर्दै आएको जानकारी दिँदै एक सैनिक उच्च अधिकृतले भने, ‘मजस्ता अन्य धेरै अधिकृतको छाप, लेटरप्याड र हस्ताक्षर किर्ते गरेको पाइयो ।’ न्यौपानेले सेनाभित्रै किर्ते गर्ने गरेको घटना उनकी माइली श्रीमतीले खुलासा गरिदिएकी
थिइन् । जेठी श्रीमतीसँग छोडपत्र भइरहेका बेला उनले माइली ल्याएका थिए । माइलीबाट एउटा बच्चा भएपछि कान्छी भित्र्याएका थिए । माइलीले कान्छी ल्याएको थाहा पाएपछि न्यौपानेलाई तलब आधा गराउन दबाब दिइरहेकी थिइन् । तर त्यो तलब माइलीलाई नदिन आफू कार्यरत स्थापति निर्देशनालयका एक कर्णेलको छाप र लेटरप्याड नक्कली बनाएर जागिरबाट राजीनामा दिएको नक्कली कागज बनाएका थिए । ‘माइलीले त्यो कागज पेस गरेपछि न्यौपानेले नक्कली कागज बनाउँदै आएको खुलासा भएको थियो,’ सेनामा रहँदाका एक सहकर्मीले भने, ‘त्यसबेला कारबाही प्रक्रिया अघि बढेपछि राजीनामा दिन्छु भन्दै थिए, तर राजीनामा स्वीकृत हुनुअघि सैनिक प्रहरीबाट पक्राउ परे ।’

तपाईको प्रतिक्रिया