काठमाडौं- नयाँ संविधानमा राज्य पुन:संरचना र शासकीय स्वरूपका विषयमा सहमति जुटाउन द्यौ भएर विरक्त मुडमा अरू नेताहरू बैठक बसिरहेका हुन्छन् । तर, नेकपा एमालेका नेता केपी ओलीमा भने त्यस्तो विरक्ति देखिन्न । बरु उनी अरूलाई पनि हँसाउने गर्छन् । कुरा सुरु गरौँ गत साता सोमबार बसेको बैठकबाट जहाँ ओलीले निरास नेताहरूलाई मज्जैले हँसाए । अघिल्लै दिन एमालेका तर्फबाट १२ प्रदेशसम्मको विकल्पमा छलफल गर्ने प्रस्ताव आएको थियो । तर, ओली उपस्थित सो बैठकमा भने एमालेका तर्फबाट थोरै प्रदेश बनाउनुपर्ने अडान प्रस्तुत भएको थियो ।ओलीले सामथ्र्यको ख्याल नगरी पहिचानको भावनामा डुबेर प्रदेशको संख्या बढाउँदा आउन सक्ने समस्याबारे बैठकमा रोचक व्यंग्य सुनाएका थिए । बैठक स्रोतका अनुसार शासकीय स्वरूप र राज्यको पुन:संरचनामा कुरा मिल्न नसकेपछि मतदानबाट टुंग्याउने भन्दै नेताहरू उठ्नै लागेका बेला ओलीले प्रदेशहरूमा मुख्यमन्त्रीलाई घोडाको व्यवस्था गर्ने निर्णय गर्नुपर्ने बताएका थिए । ‘थोरै प्रदेश बनाएर चल्न सक्नेगरी म्यानेज गरौँ भन्दा तपार्इंहरू मान्नुहुन्न, अब धेरै प्रेदश बनाउँm’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रेदशमा सडक नभए पनि मुख्यमन्त्री त चाहियो, राज्यमन्त्री पनि चाहिए, सांसदहरू त भइहाल्छन्,’ ओलीले व्यंग्य कसेर भने, ‘प्रदेशमा मोटर पुर्याउन सकिँदैन मुख्यमन्त्रीज्यूहरूलाई एक/एकवटा घोडाको व्यवस्था गरौँ, घोडाको टाउकामा राष्ट्रिय झन्डा राखेर घोडेटो बाटो कुद्ने बन्दोबस्त पनि मिलाऊँ ।’
ओलीले गाडी चल्ने सडक सुविधा भएका प्रेदशहरूमा प्रहरी र ट्राफिकले दिनभर केन्द्रीय र प्रादेशिक सरकारका मन्त्री र सांसदलाई सलाम गरेर दिन बिताउनुपर्ने भविष्यवाणी गरे । गाडी नचल्ने प्रदेशमा मुख्यमन्त्रीहरू घोडा, मन्त्रीहरू गधा चढेर हिँड्नुपर्ने अवस्था आउन सक्ने उनले बताएका थिए । ‘सांसदको संख्या हजारभन्दा बढी हुन्छ, केन्द्रीय र प्रेदशका मन्त्री र सांसदको ताँती त ठूलै पो हुन्छ,’ ओलीले भने, ‘जनताले पनि राजनीतिबाहेक अरू काम गर्नु नपर्ने, सडक भएका ठाउँमा प्रहरीले पनि मन्त्री र सांसदलाई सलाम गर्न दिनभर निधारबाट हात तल झार्नु नपर्ने ।’ विकासको पूर्वाधार खडा गर्न नसकेका प्रदेशमा भने भेडीगोठलाई नै संसद् भवन बनाउनुपर्ने उनले बताएका थिए ।
जातीय र अन्य पहिचानको भावना भड्काएर प्रदेश बनाउने बाटोमा गए नागरिक गरिब हुँदै जाने र प्रदेश पनि गरिबका राज्य हुने उनले बताउँदै आएका छन् । ‘डाँडावारि कमरेड, डाँडापारि कमरेड, मगर कमरेड, मधेसी कमरेड जसलाई पनि बाँच्नका लागि आर्थिक हैसियत र सामथ्र्य चाहिन्छ,’ ओलीले पार्टी बैठकमा भनेका थिए, ‘भोक लागेका बेला पहिचान खाएर हुँदैन, जाडो भएका वेला पहिचान लाएर हुँदैन, आर्थिक समृद्धि भयो भने त जसको पनि सम्मानित पहिचान बनिहाल्छ ।’








