काठमाडौं- महानगरीय प्रहरी वृत्त बानेश्वरमा बिहीबार दिउसो चार बजे एक महिला अत्तालिदै आइन् र आफ्नी छोरी अपहरणमा परेको उजुरी लेखाइन् । उनकी १५ वर्षीया छोरी अपहरणमा परेको शंका गर्ने प्रशस्त आधार थिए ।‘दिदीलाई कालो सिसा भएको सेतो भ्यानमा हालेर दुईजना केटाले लिएर गए भन्नु है †’ तीनकुनेस्थित सुविधानगर बस्ने सलोना भण्डारीले भाइहरू सिदक भण्डारी र सौगात श्रेष्ठलाई यसै भनेर घर पठाएकी थिइन् । सुविधानगरबाट तीनकुने चोकसम्म हिडेर सगै आएकी दिदीले सिकाएकै कुरा सिदकले आºनी ठूलीआमालाई सुनाए ।
सातदोबाटोमा घर बनाउने काममा व्यस्त रहेकी सलोनाकी आमा प्रतीक्षाकहा तत्कालै यो खबर पुग्यो । आत्तिदै उनी घर आइन् । छोरासित सोधपुछपछि छोरी ‘सलोना’ अपहरणमा परेको निष्कर्षमा पुगेलगत्तै नजिकै रहेको महानगरीय प्रहरी वृत्त बानेश्वर कार्यालयमा रिपोर्ट गरिन् ।
प्रहरीले उजुरीलाई गम्भीर रूपमा लियो । तत्काल अनुसन्धानमा प्रहरी टोली खटायो । सलोनासगै हिड्दै गएका सिदक र सौगातलाई पनि कार्यालयमा झिकाइयो । प्रहरीले पहिले सिदकसग घटना विवरण बुझ्यो, उसको जवाफ पहिलेकोजस्तै आयो । त्यसपछि सौगातलाई सोधिएको प्रश्नमा उनले भने, ‘दिदीले त हामीलाई चोकमै छाड्नुभयो र टाटा गर्दै ट्याम्पुमा चढेर जानुभयो ।’
‘कालो सिसा भएको गाडीमा जानुभयो भनेको होइन ?’ प्रहरीको प्रश्नपछि सिदकले भने दिदीले त्यही भन्न सिकाएको बताए ।
प्रहरीले घटनालाई अर्कै रूपमा लियो । सलोनाले मोबाइल घरमै छाडेकी रहिछन् । प्रहरीले उनको मोबाइलको ‘कल डिटेल्स’ हेर्यो । एउटै नम्बरमा १८ मिनेट कुराकानी गरेको पाइयो । यसको लोकेसनचाहि इलाम रहेको पाइयो । एसएमएस बक्स खोलियो । बक्समा फेला पर्यो, ‘आई लभ यु, आई क्यान्ट लिभ विदआउट यु’ जस्ता रोमान्टिक एसएमएस । अभिभावकसित सोधपुछपछि उनले केही दिनअघि ब्लेडले हात चिरेको घटना पनि खुल्यो ।
त्यसपछि खोजी भयो– सलोनाका साथीहरूसितको सम्बन्ध र जावलाखेलस्थित आदर्श विद्यामन्दिरमा कक्षा आठमा अध्ययनरत उनका सहपाठीबारे सोधखोज । केही पत्ता नलागेपछि टोलछिमेकसगको सम्बन्धबारे बुझ्दा पनि केही रहस्य पत्ता लाग्न सकेन । अन्ततः बिहीबार राति करिब साढे आठ बजे बानेश्वर पञ्चकुमारी मार्गस्थित नानु कार्कीकहा उनी बसेको पाइयो ।
प्रहरीका अनुसार सलोना इलामका अनुरुद्ध केसी नामका युवकसित गहिरो प्रेममा परेकी रहिछन् । केसीको केही महिनाअघि सलोनाको घरमा डेरा गरी बस्ने नानु कार्कीकहा आउने जाने गर्थे । त्यहीबेला उनीसति सलोनाको सामान्य चिनजान भयो । पछि फेसबुकमार्फत साथी बनेका उनीहरूको सम्बन्ध प्रगाढ हुदै गयो । उनीहरूको सम्बन्धमा घरपरिवारको अवरोध हुन थालेपछि केसीसित भाग्ने आग्रह गरिन् । सलोनाको आग्रहलाई स्विकार्दै केसीले एक हप्तापछि लिन आउने भन्यो । त्यसपछि सलोना नानु कार्कीको बानेश्वरस्थित कोठामा गएर बसिन् । यो सबै विवरण ‘फोन ट्रयास’मार्फत प्रहरीले पत्ता लगाएको हो ।
प्रहरी वृत्त बानेश्वरका डिएसपी वीरबहादुर ओलीका अनुसार मायाप्रीतिकै चक्करमा सलोनाले यो कदम चालेकी हुन् । उनले भने, ‘खोजी नगरिएको भए, उनीहरू बिहानै भाग्ने स्थितिमा पुगेका रहेछन् ।’ आफ्नो केटासाथीबारे भने सलोनाले केही भनेकी छैनन् । सलोनाका अभिभावक भने घटनाबारे खुल्न चाहेनन् ।







