काठमाडौं– संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले दलहरुबीच भएको सात बुँदे सहमतिपछि हर्ष बढाइँ गर्ने बेला नभएको बताएका छन् ।एक रेडियोलाई आइतबार बिहान दिएको अन्तर्वार्तामा आचार्यले भने– ‘सहमति हुनेवित्तिकै हर्ष बढाइँ गर्ने परिवक्व बेला भएको छैन, अझै धेरै काम गर्नुपर्नेछ । संविधानका धेरै विवादहरु यथावत् छन् ।’
आचार्यले सहमतिपछि सहमतिले शान्तिको आधारशीला निर्माण भएको भन्दै यसले जनतामा आशा भने जगाएको बताए । ‘यसले अब हिंशाको आधारशीला करिव करिव अन्त्य भएको छ,’ उनले भने, ‘शान्ति आए हर्षबढाइँ गर्न त पछि पनि पाइहाल्छौं नि ।’
आचार्यले नयाँ संविधानका धेरै विवादित विषयमा सहमति हुन नसकेको बताउँदै फेरि एकपटक समझदारी निर्माण गरेर मैत्रिपूर्ण वातावरणमा संविधान लेखिनुपर्नेमा जोड दिए ।
राज्यपुर्नसंरचनाका लागि विशेषज्ञ समिति गठन गर्ने निर्णयले संविधान निर्माण अघि बढ्ने आशा जागेको बताउँदे आचार्यले त्यसमा केही जटिलता भने रहेको बताए । ‘त्यसमा दलीय प्रतिनिधिका कारण केही जटिलता आउन सक्छन्,’ उनले भने, ‘तर यसलाई न्यूनिकरण गर्दै जानुपर्छ ।’
नयाँ संविधानमा देखिएको अर्को महत्त्वपूर्ण दुई विषय शासकीय स्वरुप र निर्वाचन प्रणालीमा पनि चाँडै सहमति हुने उनले विश्वास व्यक्त गरे ।








