काठमाडौं– भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले एमाले र कांग्रेसले रक्षामन्त्री शरतसिंह भण्डारीको राजीनामाको मुद्दा चर्काएर मुलुकमा जारी शान्ति प्रक्रिया भाँडेर द्वन्द्व चर्काउने षडयन्त्र गरेको आरोप लगाएका छन् ।हिमालयन टेलिभिजनको चर्चित अन्तर्वार्ता कार्यक्रम ‘द आरडी सो’मा कुरा गर्दै मन्त्री त्रिपाठीले मधेसको विरोध गरिरहे कांग्रेस र एमालेको मधेसमा कडा प्रतिबाद गर्ने चेतावनी दिए । उनले मुलुक कांग्रेस र एमालेको मात्रै पेवा नभएको भन्दै सत्तारुढ दलहरुको बैठक बसेर उनीहरुको रणनीतिको प्रतिबाद गर्ने बताए ।
मन्त्री त्रिपाठीले आफ्नो विवादास्पद अभिब्यक्तिको विषयमा रक्षामन्त्रीले सार्वजनिक रुपमा स्पष्टिकरण दिइसकेको भन्दै कुनै पनि हालतमा रक्षामन्त्रीको राजीनामा नआउने स्पष्ट पारे । उनले भनेका छन्– ‘संसद अवरुद्ध गर्दैमा राजीनामा आउँदैन त्यसको प्रतिबाद हुन्छ ।’
उनले चार बुँदे सहमति आइरन गेट भएको भन्दै चार बुँदे सहमतिको आधारमा मात्र सहमति हुने र चार बुँदे सहमति कार्यान्वयन भएर छाड्ने विश्वास ब्यक्त गरे । यद्यपि उनले चार बुँदे सहमति कार्यान्वयन हुन नसके मधेसी मोर्चा सरकारबाट बाहिरिने बताए । रक्षामन्त्रीको राजीनामा प्रकरणमा मधेसी मोर्चा एक रहेको भन्दै अर्को निर्वाचनसम्म मोर्चा एक रहने ठोकुवा समेत गरे ।
सरकारमा जान नपाएकोले एमालेले विरोध गरेको भन्दै उनले माओवादी असल कम्यूनिष्टको रुपमा स्थापित भएकोले एमाले अब कम्यूनिष्ट पार्टीको रुपमा नेपालमा नरहने दाबी गरे ।








