काठमाडाैं – ‘एन्ड्रोइड अपरेटिङ सिस्टम’मा ह्वावेईको पहुँचमाथि लगाइएका प्रतिबन्धहरूको असर सो चिनियाँ कम्पनीले ल्याउन लागेको पछिल्ला मोबाइल सेटहरूमाथि लामो समयसम्म रहनेछ ।
लन्डन अनर ट्वेन्टी सिरिजको स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा सो कम्पनीले विश्वभरिका सञ्चारमाध्यमलाई निम्त्याएको छ । नयाँ मोबाइल सेटमा गुगलको एप स्टोरसहित पूर्ण ‘एन्ड्रोइड अपरेटिङ सिस्टम’ उपलब्ध हुनेछ । तर अमेरिकी सरकारसँगको विवाद समाधान नभएको खण्डमा ह्वावेईले एन्ड्रोइड प्रयोग गरिरहने निर्णय गरेमा आगामी सेटहरूमा गुगलका थोरै सेवाहरूमात्र उपलब्ध हुनेछन् ।
अब के होला ?
हाललाई अमेरिकाले वर्तमान ग्राहकहरूलाई सहज पार्ने उद्देश्यले ह्वावेईविरुद्ध प्रविधि हस्तान्तरणसम्बन्धी कडा नियम लागु गर्ने कार्य तीन महिनाले पछि सारेको छ ।
वाणिज्य मन्त्रालयले ह्वावेईको सञ्जाल सञ्चालन तथा उसको मोबाइलका सफ्टवेअर अपडेटजस्ता सेवा अस्थायी रूपमा पुनर्स्थापित गरिदिएको छ । तर त्यो सहुलियत तीन महिनापछि के हुन्छ भन्ने स्पष्ट छैन । विश्वकै दोस्रो ठूलो स्मार्टफोन निर्माता कम्पनीसँग गुगल सम्बन्ध तोड्न चाहँदैन ।
ह्वावेईले हाल ५० करोड मनिसहरूले आफ्नो फोन प्रयोग गर्ने बताएको छ । सिद्दान्तत: अमेरिकी वाणिज्य मन्त्रालयले गुगललाई ह्वावेईसँगको सम्बन्ध कायम राखिराख्न अनुमति दिनसक्छ वा अहिलेको प्रतिबन्धलाई स्थगित गर्नसक्छ । तर प्रतिबन्ध कायम भएको अवस्थामा के हुनसक्छ त ?
गुगल के गर्दैछ ?
अमेरिकी प्रविधि कम्पनीले ह्वावेइसँगका सरसामान आदानप्रदान र प्राविधिक सेवाजस्ता सबै ‘गैरसार्वजनिक’ व्यापारिक क्रियाकलापलाई स्थगित गरेको छ ।
यसको अर्थ ह्वावेई फोनमा एन्ड्रोइड हराउछ भन्ने होइन किनभने एन्ड्रोइड स्मार्टफोन निर्माताहरूले चाहेअनुरुप परिवर्तन गर्न सकिने ओपन सोर्स सफ्टवेयर हो । तर अभ्यासमा भने धेरै निर्माताहरू गुगलले दिने सेवामा भर पर्छन् । र गुगलले यसका निम्न कुराहरूमा नियन्त्रण राख्छ :-
-एपहरू डाउनलोड गर्ने प्ले स्टोर
-गुगलका एपहरू
-गुगल एसिस्टेन्ट भनिने सहयोगी एप
-जीमेल इमेल सेवा
-र अन्य एपलाई एन्ड्रोइडसँग जोडिन दिने प्रविधि
अहिले चलिरहेका ह्वावेईका सेटमा के हुन्छ ?
ह्वावेई वा अनर फोन बोक्नेहरूका लागि भने अचानक एप राख्न नमिल्ने वा अद्यावधिक नहुने भन्ने हुनेछैन् । यसको कारण भनेको अहिले चलनचल्तीमा रहेका सेटहरू प्रमाणित भइसकेका हुन् तर त्यसमा नयाँ भर्सन दिन वा एप डाउनलोड गर्न दिन गुगलले ह्वावेईसँग सम्बन्ध राखिरहनुपर्दैन ।
तर सुरक्षा अप्डेटहरूका विषयमा भने यो फरक हुनसक्छ । गुगलले कुनै सुरक्षा खतरा देखेको अवस्थामा एक महिना पहिले निर्माता कम्पनीहरूलाई जानकारी दिएर मात्रै सार्वजनिक रूपमा अप्डेट जारी गर्नेगर्छ । यसले गर्दा निर्माता कम्पनीहरूलाई अप्डेटले आफ्नो फोनमा कस्तो असर पार्छ भनेर जाँच गर्न समय दिन्छ ।
ह्वावेईले अब भने अप्डेट जारी गरिएको दिन मात्रै सोको जानकारी पाउने छ र उसको फोन प्रयोगकर्तालाई अप्डेट दिन केही समय लाग्नेछ । यसले कुनै ठूलै खतरा देखिदाँ ह्वावेईका फोनहरू केही दिन वा हप्ताका लागि खतरामा रहनेछन् ।
नयाँ सेटमा के हुन्छ ?
नयाँ मोबाइल सेटहरू भने प्रमाणित हुनेछैनन् र यसको कारण निम्न एपहरू फोनमा हुनेछैनन् :-
-प्लेस्टोर, म्युजिक र अन्य मिडिया
-गुगल फोटोज
-यूट्युब
-गुगल म्याप्स
-गुगल ड्राइभ
-गुगल डुओ
यीमध्ये केही सेवाहरू फोनमा इन्टरनेटमार्फत् प्रयोग गर्न सकिन्छ तर त्यसरी प्रयोग गर्न सहज छैन । चीनमा गुगलका धेरै सेवाहरू प्रतिबन्धित भएका कारण त्यहाँका प्रयोगकर्ताहरूलाई यसले ठूलो असर गर्नेछैन ।
र ह्वावेईका फोनहरू एन्ड्रोइडका नयाँ भर्सनमा नगई अहिलेकै भर्सनमा रहिरहेको अनुमानसमेत गरिएको छ । तर अबको नयाँ भर्सन निर्माता कम्पनीहरूलाई दिइसकिएकोले एन्ड्रोइड क्यू भने ह्वावेईका फोनहरूमा आउन सक्छ । त्यसपछिका नयाँ भर्सन भने नआउन सक्छ ।
ह्वावेईका विकल्प
ह्वावेईले एन्ड्रोइडसँग सहकार्य गर्न इच्छुक भएको बताउँदै नयाँ अपरेटिङ सिस्टम विकास गरेको बताएको छ । ‘हामीले यस्तो कुराका लागि तयारी गरेका छौँ,’ ह्वावेई यूकेका कार्यकारी उपाध्यक्ष जेरेमी थम्प्सनले भने । ‘हाम्रो समानान्तर रुपमा वैकल्पिक व्यवस्था गरिरहेका छौँ र त्यसले हाम्रो प्रयोगकर्ताहरूलाई खुसी बनाउनेछ ।’ ‘छोटो समयका लागि यो ह्वावेईको लागि शुभ समाचार होइन, तर हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ ।’
चीनमा अधिकांश प्रयोगकर्ताले वीच्याट प्रयोग गर्ने र त्यसमा अन्य एप चलाउन पनि मिल्ने भएकोले यसले ठूलो फरक ल्याउनेछैन । र अन्य एप विकासकर्ताहरू पनि नयाँ अपरेटिङ सिस्टममा आफ्नो एप चल्न मिल्ने बनाउन दबावका हुनेछन् । तर अन्यत्र भने नयाँ सिस्टमले समस्या ल्याउनेछ ।








