टोकियो – जापानको ओकिनावा प्रान्तीय सरकारले सन् २०२२ मा प्रहरीको लाठी (ब्याटन) प्रहारबाट एउटा आँखाको ज्योति गुमाएका एक युवकलाई ९ करोड १३ लाख ८० हजार येन क्षतिपूर्ति दिने भएको छ ।
उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छँदा प्रहरीको लापरवाहीका कारण ती युवकले दाहिने आँखाको दृष्टि सधैँका लागि गुमाएका थिए । प्रान्तीय सरकारले जुन ८ मा यससम्बन्धी निर्णय सार्वजनिक गरेको हो । यससँग सम्बन्धित विधेयक जुन १६ देखि सुरु भएको प्रान्तीय सभाको बैठकमा पेश गरिनेछ ।
विवरणअनुसार, २७ जनवरी २०२२ को मध्यरातमा गस्तीमा रहेका एक प्रहरी अधिकारीले सोधपुछका लागि ती युवकको मोटरसाइकल रोक्ने प्रयास गरेका थिए। सोही क्रममा प्रहरीले तेर्स्याएको लाठी युवकको दाहिने आँखामा लागेको थियो, जसका कारण उनको आँखाको गेडी फुट्नुका साथै अन्य गम्भीर चोट लागेको थियो । प्रान्तीय सरकारले प्रहरी अधिकारीको कार्यमा लापरवाही भएको स्वीकार गर्दै उपचार खर्च र अन्य क्षतिपूर्ति बापतको रकम तिर्ने निर्णय गरेको हो । प्रान्तीय सभाबाट विधेयक पारित भएपछि यो मुद्दाको औपचारिक किनारा लाग्नेछ ।
यो घटनाले त्यसबेला जापानभर ठूलो हलचल पैदा गरेको थियो । ‘प्रहरीले एक विद्यार्थीलाई लाठीले पिटेर अन्धो बनायो’ भन्ने खबर सामाजिक सञ्जालमा डढेलो सरी फैलिएपछि आक्रोशित सयौँ युवाहरूले ओकिनावा प्रहरी स्टेशन घेराउ गरी ढुङ्गामुढा समेत गरेका थिए । सो हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ समेत गरेको थियो ।
घटनाको समयमा ती प्रहरी अधिकारी मियाजाकी प्रान्तबाट ओकिनावामा काजमा खटिएका थिए । ओकिनावा प्रहरीले उनलाई सुरुमा पदको दुरुपयोग गरी कुटपिट गरेको अभियोगमा अनुसन्धान गरे तापनि पछि नाहा जिल्ला अदालतले ‘व्यावसायिक लापरवाही’अन्तर्गत मुद्दा चलाएको थियो । सन् २०२३ को डिसेम्बरमा अदालतले ती प्रहरीलाई दोषी ठहर गर्दै १० लाख येन जरिवाना गर्ने फैसला सुनाएको थियो ।








