काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई ३७ सदस्यीय भ्रमण टोली सहित औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । नेपाल वायु सेवा निगमको आरए २०५ विमान मार्फत बिहीबार दिउसो प्रधानमन्त्री नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो ।भ्रमणमा प्रधानमन्त्री पत्नी हिसिला यमी, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश, भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी, सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता लगायत छन् ।
प्रधानमन्त्री भट्टराईले भोलिदेखि औपचारिक भेटवार्ता शुरु गर्नुहुनेछ । भ्रमणमा जानुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित कुरा गर्दै उहाँले आफ्नो भारत भ्रमण सद्भाव भ्रमण मात्र रहेको प्रतिकृया दिनुभयो । भ्रमणका क्रममा भारतसँग नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ता विरोधी कुनै पनि सन्धि सम्झौता नहुने उहाँले स्पष्ट पारिसक्नु भएको छ ।
भारतमा रहँदा प्रधानमन्त्री भट्टराईले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेता लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । चार दिने भ्रमण पूरा गरी उहाँ आउँदो ६ गते स्वदेश फर्कनुहुनेछ ।
प्रधानमन्त्रीको भ्रमण कार्यक्रम
कात्तिक ३ गते
-त्रिभुवन विमान स्थलबाट नेपाल वायु सेवा निगमको विमान आरए २०५ मार्फत नयाँ दिल्ली प्रस्थान ।
-दिउसो २ बजेः इन्दिरा गान्धी विमान स्थल, दिल्ली ।
-जवाहरलाल नेहरु विश्व विद्यालयका आफ्ना साथीहरु सँग भेटघाटः होटल लीला प्यालेस ।
-साउथ एसिया फोरम फर पिपल्स् इनिसिएटिभको कार्यक्रममा सहभागी हुने ।
-नेपाल डेमोक्रेसी सोलिडारिटी कमिटीको कार्यक्रमः होटल ताज प्यालेस ।
कात्तिक ४ गते
-भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग दिल्ली स्थित हैदरावाद हाउसमा भेटवार्ता तथा रात्री भोज ।
-राष्ट्रपति प्रतिभादेवी सिंह पाटिल, उपराष्ट्रपति हमीद अन्सारी तथा अन्य राजनीतिक दलका नेताहरुसँग भेटवार्ता ।
-दिल्लीको राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा माल्यार्णप ।
-अन्य अन्तक्रियात्मक कायक्रमहरुमा सहभागी ।
कात्तिक ५ गते
-भारतीय रक्षामन्त्री, गृहमन्त्री तथा सत्तारुढ दलका विभिन्न नेतासँग भेटघाटको कार्यक्रम ।
-जवाहरलाल नेहरु विश्वविद्यालयको कार्यक्रममा सहभागी हुने ।
-नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुने ।
कात्तिक ६ गते
-दिल्ली स्थित एयर फोर्स स्टेशन अवलोकन गर्ने ।
-स्वदेश फर्कने ।








