Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

झण्डै एक महिना लामो तामझामपछि नेपाली नारीहरुको पर्व तीजको माहौल हालै सकिएको छ । यो पर्वको महत्व, गरिमा र मौलिकतालाई भन्दा पछिल्ला समयमा मोजमस्ती, देखासिकी र भड्किलो रुपमा मनाउने चलनले हाम्रो समाजलाई गाँज्दै लगेको पाईन्छ । गीत, संगीत, गानाबजानाको क्षेत्रमा पनि मौलिकतामाथि धाबा बोल्दै रत्यौली र डिस्कोको रुप धारण गर्दै छ र यस्तैखाले गीत र संगीतमा तरुणपुस्ता दंग छ अनि बजार पिटेको छ । यो अत्यन्त संबेदनशील बिषय हो ।

पितृसत्तात्मक सोच, पुरुषप्रधान समाज र अपहेलित अवस्थालाई अत्यन्त उत्कृष्ट र मार्मिक गीतद्वारा व्यङ्ग्य गर्दै महिलाले मनाउने महान तीजलाई भड्कीलो, उत्ताउलो र खर्चिलो हुनबाट अविलम्ब रोक्नुपर्छ । हाम्रो समाजले उत्तम मानेको आफ्नै मौलिक इतिहास बोकेको स्थापित पर्वलाई नजानिदो तवरले ब्यापारिकरण गरिन खोजिंदै छ । माइतीको आँगनमा मनाईने तीज पर्वलाई ब्यापारसंग जोडेर पार्टी प्यालेसहरुमा महिनौसम्म तीज मनाउने नयाँ नयाँ चलन, गरगहना र फेशनमा होडबाजी अनि गीत संगीतमा आधुनिकताको नाममा उत्ताउलोपन प्रबृत्तिले मलजल पाउँदै गईरहेको छ ।

विशिष्ट प्रकृतिको गरिमा र पृष्ठभूमि बोकेको यस पर्व पाँचतारे होटल र भब्य सभाहलहरुमा भन्दा गच्छेअनुसार र माइतीको साँघुरो मझेरीमै यसको महत्व र मौलिकता झल्किन्छ । यसलाई ठूलाबडाले अहंकार गर्ने र सम्पन्नहरुले मनाउने पर्व बनाइयो भने यो अब साँस्कृतिक पर्वकारुपमा रहन सक्दैन ।

परिवर्तित सन्दर्भमा यातायात, टेलिफोन र अन्य सञ्चार सम्पर्कको सुविधाले गर्दा चेलीहरुलाई माइत जानका लागि तीजनै कुर्नुपर्ने अवस्था अब रहेन । त्यसैले समयानुकुल गीत संगीतमा थोरै परिबर्तन हुनु स्वभाविक छ, यद्यपि आधुनिकताको नाममा तीज पर्वलाई उपयोग गर्दै रत्यौली बिर्साउने उत्ताउला गीतहरु अनि दरको नाममा भोजभतेर गरी फजुल खर्च गरेर हामी रमाईरहेका छौं । हाम्रो सामाजिक तथा साँस्कृतिक महत्वका पर्वहरुलाई समयसापेक्ष बनाउने नाममा विकृति, विसंगति र उच्छृङ्खलता भित्र्याईनु हुँदैन । स्वदेशमा मात्र होईन बिदेशमासमेत पछिल्ला तीजहरुमा यस्तै विकृति भित्रिएको पाइन्छ, जुन यो बर्ष अलि बढि नै देखियो । यसबारे समाज परिवर्तनको अग्रमोर्चामा रहेेका महिला अगुवाहरुको बेलैमा ध्यान जानु आवश्यक छ ।

तीज पर्व अब कुनै धर्म र जात बिशेषको मात्र नभएर सबैको साझा पर्व बनिसकेको छ । यो सबैले स्वीकारी सकेको बिषय हो । तीजको स्थापित मूल्य र मान्यता पटक्कै नबिग्रने गरी सामाजिक सद्भाव कायम गर्दै महिला सशत्तिकरण र चेतना अभिबृद्धि गर्ने दिशामा यो पर्व उन्मुख हुनुपर्दछ ।

जापानको सन्दर्भमा पनि यो पर्व समाजका र्सबसाधारणले अलि धान्न नसक्ने खालको बनाईन खोजिदैं छ । काम गरेर खानुपर्ने बिदेशको बाध्यता र ब्यस्तता आफ्नो ठाउँमा छ । हप्तैपिच्छे, टोलैपिच्छे हुँदाहुँदा घरैपिच्छे तीज कार्यक्रम राखेर चिनेजानेका सबैलाई भेला पारेर मनाउने चलन जापानको सन्दर्भमा कति जायज हुनसक्ला, यसले भबिष्यमा अझ कस्तो रुप लिने हो ? यो एउटा सोंचनिय बिषय हो । हाम्रो समाजले थेग्न नसक्ने प्रचलनलाई बेलैमा बिचार पुर्‍याउनुपर्ने देखिन्छ । बरु सबैको साझा र एउटै तीज मेला एकैदिन गरेर छोटो, सभ्य र भब्य अनि गर्व गर्न लायकको साँस्कृतिक महोत्सवकारुपमा मनाउन सकियो भने यसले बिदेशीमाझ हाम्रो देश र हाम्रा कला सँस्कृतिलाई पनि चिनाउन मदत गर्नेछ भने नेपाली एकतालाई पनि सुदृढ गराउनेमा दुई मत नहोला । ***

 

तपाईको प्रतिक्रिया