Deneme Bonusu Veren Siteler
बुधबार, साउन ६, २०८३
Wednesday, July 22, 2026

टोकियो – जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र ओदाइबामा तीन दिनसम्म सञ्चालन भएको १५औँ ‘नेपाल फेस्टिभल-२०२६’ भव्य रूपमा सम्पन्न भएको छ । जुलाई १८ देखि २० सम्म आयोजना गरिएको फेस्टिभल नेपाली कला, संस्कृति र मौलिकतालाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्दै सकिएको हो ।

जापानस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको संयुक्त आयोजनामा सम्पन्न यस महोत्सवलाई आयोजकले एक ‘ऐतिहासिक सफलता’का रूपमा व्याख्या गरेका छन् ।

फेस्टिभलको समापनसँगै एनआरएनए जापानले एक धन्यवाद ज्ञापन जारी गर्दै महोत्सवले नेपाल र जापानबीचको मैत्री सम्बन्धलाई जनस्तरमा थप सुदृढ बनाएको उल्लेख गरेको छ । तीन दिनसम्म चलेको महोत्सवमा नेपाली मौलिक खाना, भाषा, भेषभूषा र परम्परागत कलाको प्रदर्शनी गरिएको थियो । विशेष गरी जापानी नागरिक र विभिन्न देशका पर्यटकहरूको बाक्लो उपस्थितिले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको विश्वास लिइएको छ ।

एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार, यो फेस्टिभल केवल एउटा कार्यक्रम मात्र नभई अन्तर्राष्ट्रिय समुदायमाझ नेपाल चिनाउने एउटा विशेष अभियान सावित भएको छ । ‘जापानी मित्रहरू र विदेशी आगन्तुकहरूको सक्रिय सहभागिताले दुई देशबीचको सांस्कृतिक आदान-प्रदान र आपसी सद्भावलाई नयाँ उचाइ दिएको छ,’ आचार्यले भने ।

महोत्सव सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजकले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूप्रति आभार प्रकट गरेको छ। एनआरएनए जापानले विशेष गरी प्रायोजक संस्थाहरू, सहयोगी निकाय, विभिन्न संघ-संस्था, स्टल व्यवसायी, कलाकार, स्वयंसेवक र सञ्चारकर्मीहरूको अमूल्य योगदानको उच्च प्रशंसा गरेको छ ।

महोत्सवमा खटिएका स्वयंसेवकहरूको मेहेनत र कलाकारहरूको उत्कृष्ट प्रस्तुतिले ओदाइबालाई तीन दिनसम्म ‘नेपालमय’ बनाएको थियो । देश-विदेशबाट उपस्थित भएका हजारौँ दर्शकहरूको माया र सद्भावले आगामी वर्षहरूमा अझ परिष्कृत कार्यक्रम गर्ने हौसला प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षको फेस्टिभलबाट प्राप्त ऊर्जा र विश्वासले आगामी दिनमा नेपाली कला र राष्ट्रिय पहिचानलाई विश्वसामु उजागर गर्ने अभियानलाई थप बलियो बनाउने आयोजकको अठोट छ । फेस्टिभलको एउटा मुख्य उद्देश्य चिबामा निर्माणाधीन ‘नेपाल हाउस’ परियोजनाका लागि सहयोग जुटाउनु पनि रहेको थियो, जसमा समुदायले देखाएको ऐक्यबद्धता अनुकरणीय रहेको सहभागीहरूले बताएका छन् ।

प्रवासमा रहेर पनि आफ्नो माटो, संस्कृति र पहिचानका लागि एकजुट भएका जापानवासी नेपालीहरूको यो सक्रियताले टोकियोको मुटुमा नेपालको गौरव बढाएको छ ।

तपाईको प्रतिक्रिया