समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार, धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग पुँजी बजार सुधार र विस्तारका विषयमा छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से), स्टक ब्रोकर, बीमा कम्पनी तथा पुँजी बजारका विज्ञहरूको सहभागिता थियो।
छलफलपछि सेबोनका अध्यक्ष गोपाल भट्टले पुँजी बजारलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत, कानुनी र संरचनागत सुधारका विषयमा प्रधानमन्त्रीसँग विचार–विमर्श भएको जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले लगानीकर्ताको विश्वास बढाउने र पुँजी बजारलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्ने विषयमा सकारात्मक प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा लगानीकर्ताको मनोबल बढाउने, बजारमा माग–आपूर्तिको सन्तुलन कायम गर्ने, संस्थागत तथा गैरआवासीय नेपाली (एनआरएन)को लगानी आकर्षित गर्ने, मार्जिन लेन्डिङ सहज बनाउने र स्टक एक्सचेन्जलाई प्रविधिमैत्री बनाउने विषयमा सुझाव प्रस्तुत गरिएको थियो।
यस्तै, आईपीओ प्रणाली सुधार, १० कित्ते आवेदन व्यवस्थाको पुनरावलोकन, बुक बिल्डिङ प्रक्रियालाई प्रभावकारी बनाउने, इन्ट्राडे कारोबार सञ्चालन तथा नयाँ वित्तीय उपकरण विकासका विषयमा पनि छलफल भएको थियो।








