समाचार सुन्नुहोस :
काठमाडौँ – साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका दर्शनका लागि खुला गरिएको हो। साउने झरीका बाबजुद पनि भक्तजन बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।
दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी, मन्दिर पहरा गण तथा विभिन्न धार्मिक–सामाजिक संस्थाको परिचालन गरिएको छ। कोषले लाखौँ भक्तजनलाई व्यवस्थित रूपमा दर्शन गराउने तयारी गरिएको जनाएको छ। मन्दिरका चारै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् भने विशेष पूजा बिहान ८:३० बजेदेखि दिउँसो १२ बजेसम्म हुनेछ। पशुपति क्षेत्रमा प्राथमिक उपचारसहित आवश्यक सुविधा पनि उपलब्ध गराइएको छ।
पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौंका शिवालय तथा देशभरका अन्य शिव मन्दिरमा पनि श्रद्धालुको घुइँचो लागेको छ।








