Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

टोकियो – नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र महासंघको वैदेशिक शाखाहरुको यो साता टोकियोमा सम्मेलन हुँदै छ । महासंघको इतिहासमा मुलुकबाहिर यो स्तरको पत्रकारहरुको सम्मेलन र जिम्मेवार पत्रकारितासंग सम्बन्धित ठोस विषयहरुमा बहस गर्न लागिएको संभवत यो पहिलो अभ्यास हो । यो सम्मेलन महासंघको जापान शाखाले आयोजना गरेको हो भने अन्य वैदेशिक शाखाहरुको सहकार्य रहेको छ । यसै सन्दर्भमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासंग हाल नेपालमा सूचनाको हक तथा प्रेस स्वतन्त्रताको अवस्था, जापानमा हुन लागेको एफएनजे ग्लोबल मिडिया सम्मेलनको औचित्य र अपेक्षा लगायतका विषयमा केन्द्रीत रहेर समुद्रपारिका लागि तिलक मल्लले गरेको कुराकानीको सम्पादित अंश:

हालै काठमाडौंमा सम्पन्न नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन कस्तो रह्यो ? यस सम्मेलनका प्रमुख उद्देश्य र उपलब्धिहरु के थिए ?
राष्ट्रिय सम्मेलन अत्यन्तै सफल, सहभागितामूलक र परिणाममुखी रह्यो । दशवटै प्रदेशका अध्यक्ष सहितका पदाधिकारी, १ सय २७ वटा जिल्ला शाखा, प्रतिष्ठान, एसोसियट अध्यक्ष र ५२ जना केन्द्रीय समितिका सदस्यहरुको सहभागितामा भएको उक्त सम्मेलनमा प्रतिनिधिहरूले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारका अधिकार, सञ्चार क्षेत्रका चुनौती र सरकारले ल्याएको विज्ञापन सम्बन्धि एकद्वार नीतिका विरुद्द आन्दोलन गर्ने लगायतका बिषयमा छलफल गरिएको थियो । श्रमजीवी पत्रकारका मुद्दा, विज्ञापन र सूचनामा लगाइएको नियन्त्रण र महासंघका भावी कार्यदिशामाथि गहन छलफल गरियो । सम्मेलनले जारी गरेको ‘ललितपुर घोषणापत्र–२०८३’ आगामी दिनमा महासंघको मार्गदर्शक दस्तावेजका रूपमा रहने छ । विशेषगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रम अधिकारको सुनिश्चितता, सञ्चारसम्बन्धी कानूनलाई प्रेसमैत्री बनाउने, सरकारी सञ्चार माध्यमलाई मात्र सूचना र सार्वजनिक विज्ञापन दिने प्रधानमन्त्री कार्यालयबाट जारी गरिएको चैत्र १८ गतेको परिपत्र खारेज गर्नुपर्ने लगायतका महासंघलाई अझ सशक्त बनाउने विषयमा सम्मेलनले स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
नेपालको लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन संविधान, विधिको शासन र लोकतान्त्रिक संस्थाहरूको स्वतन्त्रता अत्यन्त महत्वपूर्ण हुन्छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई हामीले लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र नागरिक अधिकारको दृष्टिकोणबाट हेरिरहेका छौं । राज्यका सबै निकायले शक्ति पृथकीकरणको सिद्धान्तलाई सम्मान गर्दै आफ्नो संवैधानिक भूमिकामा रहेर काम गर्नुपर्छ भन्ने महासंघको स्पष्ट धारणा छ ।

नेपालमा हाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्था कस्तो छ ?
संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि व्यवहारमा अझै धेरै चुनौती छन् । पत्रकारमाथि धम्की, धरपकड, सूचना प्राप्तिमा अवरोध, सरकारी सूचना र विज्ञापनमा विभेद, सेल्फ-सेन्सरशिपको बढ्दो प्रवृत्तिले प्रेस स्वतन्त्रतामाथि दबाब सिर्जना गरेको छ । यस्ता विषयमा महासंघ निरन्तर आवाज उठाइरहेको छ र आवश्यक परे थप आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने छ । यो बर्ष मात्र नेपालमा १ सय ३३ वटा घटना समाचार लेखेकै कारण प्रेस स्वतन्त्रता हननका घटना अभिलेखिकरण भएकाछन् । हुन त संसारभरी नै प्रेस स्वतन्त्रता हननका घटना बढेका छन् । सेल्फसेन्सरशीपको अवस्था पनि छ । संविधानले विचार र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी र सुनिश्चितता गरेको छ । प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता छ । त्यो कतैबाट पनि संकुचन गर्न भएन । अहिले हाम्रो अभिव्यक्ति स्वतन्त्रता संकुचनमा परेको छ । तर व्यवहारमा राजनीतिक र आर्थिक शक्ति केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास जारी छ । प्रेसको अभिव्यक्ति स्वतन्त्रता भनेको सूचना माग्ने, पाउने, प्रकाशन तथा प्रसारण गर्नुपुर्व तथ्यको परिक्षण र यकिन गरेर प्रकाशन गर्ने अधिकार पर्दछन् । तर यतिबेला सूचना संकलन र लिने प्रक्रिया असहज हुँदै गएका छन् । विज्ञापन पनि सूचना हुन् । संविधान, राष्ट्रिय, अन्तराष्ट्रिय कानूनले बिज्ञापनलाई सूचनाको हकको रुपमा स्वीकार गरेको छ । तर अहिले तथ्यहरु परिक्षण गर्न असजिलो भएको छ । यी सबै अधिकार संकुचनमा परेको छ । विश्वभर नै प्रेसलाई कानूनी छिद्र प्रयोग गरेर सिध्याउने प्रयास भईरहेको छ । हामीकहाँ पनि प्रेस स्वतन्त्रता हननका घटना बढेका छन् यो अवस्था विश्वभर नै छ । तर यहि असार ३० गते सर्वोच्च अदालतले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन र सार्वजनिक सूचना निषेध गरेको परिपत्र र निर्णय खारेज गरेको छ । अदालतले बिभेदकारी यो परिपत्र खारेज गरेकोमा महासंघले स्वागत पनि गरेको छ ।

 

नेपाल पत्रकार महासंघले हाल सामना गरिरहेका प्रमुख चुनौतीहरू के–के हुन ?
मुख्य चुनौतीहरूमा प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चित गर्नु, सञ्चार संस्थामा बढ्दो आर्थिक संकट, पत्रकारको पेशागत सुरक्षा, डिजिटल माध्यममा देखिएका नयाँ चुनौती तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन रहेका छन् । यी सबै विषयमा महासंघले संगठित रूपमा काम गरिरहेको छ । श्रमजिवी पत्रकारको ठूलो समस्या छ । ठूलो संख्याका पत्रकारहरुले मासिकरुपमा पारिश्रमिक नै पाउँदैनन् । न्युनतम पारिश्रमिक भने पनि कम प्राप्त गर्छन् । ढिलोगरि प्राप्त गर्छन् । यसले पत्रकारितामा युवा पुस्ताका लागि आकर्षक पेशा होइन भन्ने सन्देश गएको छ । यसलाई रोक्न सरकारले न्युनतम पारिश्रमिक रिभ्यू गर्नुपर्दछ । सरकारले न्युनतम पारिश्रमिक निर्धारण समिति विघटन गर्ने प्रस्ताव गरेको छ, यसबारेमा सरकारले महासंघसंग कुनै समन्वय नै गरेन । पत्रकारहरुको तलव पनि राष्ट्रसेवकको तलवमानलाई ख्यालमा राखेर निर्धारण गर्नुपर्दछ ।

महासंघको नेतृत्वमा आएपछि यहाँको कार्यकालमा हासिल भएका प्रमुख उपलब्धिहरू के हुन ?
हामीले महासंघलाई आन्दोलनमुखी मात्र नभई नीतिगत रूपमा प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने प्रयास गरेका छौं । प्रेस स्वतन्त्रतामाथि भएका हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाईरहेका छौं । श्रमजीवी पत्रकारका अधिकार, सामाजिक सुरक्षा कोषको अनिवार्यता, न्यूनतम पारिश्रमिक, सञ्चारसम्बन्धी कानून संशोधन लगायतका विषयमा सरकारसंग निरन्तर संवाद र दबाब सिर्जना गरेका छौं । संगठनात्मक रूपमा पनि केन्द्र, प्रदेश, शाखा र वैदेशिक शाखाबीच समन्वयलाई मजबुत बनाउने प्रयास गरेका छौं । देशको सबैभन्दा पुरानो नागरिक अगुवा संस्था भएको नाताले नागरिकको सूचनाको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नु र पत्रकारको श्रमको सम्मान गर्नु हाम्रा सबैभन्दा बढि चुनौतीपूर्ण काम हुन् । यी मुद्दामा हामीले देखिनेगरी काम गरेका छौं । यसैगरी जिम्मेवार पत्रकारिता विकासका लागि तालिम दिने काम पनि भएका छन् र निरन्तर जारी रहनेछन् ।

जापानमा हुन लागेको एफएनजे ग्लोबल मिडिया सम्मेलनलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
यो सम्मेलन महासंघको इतिहासमै महत्वपूर्ण अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वका विभिन्न देशमा रहेका नेपाली पत्रकारहरूलाई एउटै मञ्चमा ल्याएर अनुभव आदान–प्रदान, नेटवर्क विस्तार र साझा एजेन्डामा छलफल गर्ने उत्कृष्ट अवसरका रूपमा हामीले यसलाई लिएका छौं । यसले महासंघको अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि थप सुदृढ बनाउने विश्वास छ । यसले डायस्पोरा र देश जोड्ने मिडियाको भूमिकाका बारेमा छलफल गरिने छ । नेपाललाई विश्वसामु जोड्न, प्रवासी नेपालीहरुबीच सम्बन्धको सेतु कसरी बन्न सक्छ भन्ने बारेमा अन्तरक्रियात्मक प्यानल सेसन गरिने छ । त्यस्तै प्रवासी नेपाली पत्रकारिताको अवस्था र चुनौती र नेपाल पत्रकार महासंघका वैदेशिक शाखाको केन्द्र संगको सम्बन्धका बिषयमा पनि बहस गरिने छ । त्यहाँ छलफल गरिएका बिषयमा हामीले टोकियो घोषणा पत्र पनि जारी गर्ने कार्यक्रम रहेको छ ।

महासंघ र पत्रकारहरूको हितलाई केन्द्रमा राखेर सम्मेलनलाई कसरी उपलब्धिमूलक बनाउन सकिएला ?
सम्मेलन केवल औपचारिकतामा सीमित हुनुहुँदैन । प्रवासको पत्रकारिताका चुनौती, प्रेस स्वतन्त्रता, डिजिटल पत्रकारिता, पत्रकारको सुरक्षा, क्षमता अभिवृद्धि र वैदेशिक शाखाको भूमिकाबारे ठोस निष्कर्ष र कार्ययोजना बनाउन सकियो भने सम्मेलन उपलब्धिमूलक हुनेछ । सम्मेलनबाट आएका सुझावलाई महासंघले नीति निर्माणमा समावेश गर्ने प्रतिबद्धता पनि जाहेर गरिने छ ।

सम्मेलनबाट हामी कस्तो सन्देश दिन सक्नुपर्छ ?
विश्वभर रहेका नेपाली पत्रकारहरु लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार र व्यवसायिक पत्रकारिताका साझा मूल्यमा एकताबद्ध छन् भन्ने स्पष्ट सन्देश जानुपर्छ । साथै जहाँ रहे पनि नेपाल पत्रकार महासंघ सबै पत्रकारको साझा संस्था हो भन्ने भावना अझ बलियो बनाउनुपर्छ । यसैगरी बैदेशिक शाखालाई बलियो बनाउन ठोस रणनीति पनि तय गरिने छ ।

वैदेशिक शाखा र केन्द्रबीचको सम्बन्धलाई कसरी थप दिगो र मजबुत बनाउन सकिएला ?
नियमित संवाद, साझा कार्यक्रम, नीतिगत सहभागिता र संस्थागत समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्छ । वैदेशिक शाखालाई महासंघको अभिन्न अंगका रूपमा स्थापित गर्दै उनीहरूको सुझाव र अनुभवलाई केन्द्रले प्राथमिकताका साथ ग्रहण गर्नुपर्दछ ।

वैदेशिक शाखालाई अधिकारसम्पन्न बनाउने विषयमा महासंघको धारणा के छ ?
महासंघ वैदेशिक शाखालाई संस्थागत रूपमा अझ प्रभावकारी र जिम्मेवार बनाउने पक्षमा छ । उनीहरूको भूमिका स्पष्ट, अधिकार सुनिश्चित र जिम्मेवारी पनि व्यवस्थित हुनुपर्छ । यस विषयमा संगठनभित्र आवश्यक छलफल र सहमतिका आधारमा अघि बढ्न सकिन्छ ।

वैदेशिक शाखाहरुले उठाउँदै आएको केन्द्रीय समितिमा आफ्नो प्रतिनिधित्व र मताधिकारको मागबारे यहाँको धारणा के छ ?
यो विषय लामो समयदेखि उठ्दै आएको र गम्भीर रूपमा छलफल गर्नुपर्ने विषय हो । महासंघ लोकतान्त्रिक संस्थाको रूपमा सबै पक्षको आवाज सुन्ने पक्षमा छ । विधान, संगठनको संरचना र व्यापक सहमतिका आधारमा उपयुक्त निर्णयमा पुग्न सकिन्छ । यसलाई खुला मनले छलफल गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं ।

संसारभर छरिएका नेपाली पत्रकारलाई गोलबन्द गर्दै प्रेस स्वतन्त्रताको पक्षमा उभ्याउन महासंघको भूमिका के रहन्छ ?
महासंघले सबै देशमा रहेका नेपाली पत्रकारहरुबीच सहकार्य, सूचना आदान–प्रदान र साझा अभियान सञ्चालन गर्ने वातावरण बनाउने छ । प्रेस स्वतन्त्रतामाथि जहाँसुकै हस्तक्षेप भए पनि एकीकृत आवाज उठाउने र अन्तर्राष्ट्रिय पत्रकार महासंघ र अरु संगठनसंग सहकार्य बढाउने हाम्रो प्राथमिकता हुने छ ।

प्रवास पत्रकारितालाई महासंघले कसरी हेरिरहेको छ ?
प्रवास पत्रकारिता नेपाली पत्रकारिताको महत्वपूर्ण विस्तार हो । यसले नेपाली समुदायलाई सूचना प्रवाह गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा पनि योगदान पुर्‍यइरहेको छ । त्यसैले प्रवास पत्रकारितालाई महासंघले संगठनको अभिन्न हिस्सा र साझेदारका रूपमा हेरेको छ ।

ग्लोबल मिडिया सम्मेलनमा सहभागी हुन आउनुभएका प्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ ?
सबै प्रतिनिधिलाई हार्दिक स्वागत गर्न चाहान्छु । सम्मेलनमा सक्रिय रूपमा सहभागी भई अनुभव, विचार र सुझाव साझा गर्न अनुरोध गर्दछु । यहाँबाट प्राप्त निष्कर्षले नेपाली पत्रकारिताको भविष्यलाई थप सुदृढ बनाउने विश्वास लिएकी छु ।

अन्त्यमा, प्रवासका कठिन परिवेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूलाई यहाँको सन्देश के छ ?
जहाँ रहे पनि पत्रकारिताको मूल धर्म सत्य, निष्पक्षता, व्यवसायिकता र जवाफदेहिता हो । कठिन परिस्थितिमा पनि नेपाली भाषा, समाज र लोकतान्त्रिक मूल्यको पक्षमा तपाईहरूले पुर्‍याईरहनुभएको योगदान अत्यन्त प्रशंसनीय छ । नेपाल पत्रकार महासंघ सँधैंं तपाईहरूसँग छ र प्रवासमा रहेका पत्रकारहरूको अधिकार, सम्मान र संस्थागत हितका लागि निरन्तर काम गरिरहने प्रतिबद्दता व्यक्त गर्न चाहान्छु । ***

तपाईको प्रतिक्रिया