टोकियो – चर्चित युवा नेता तथा सांसद ज्ञानेन्द्र शाहीको ज्ञानेन्द्र शाहीले जापानमा आफूमाथि भौतिक आक्रमण भएको भन्ने समाचारको कडा खण्डन गरेका छन् । सामाजिक सञ्जालमा फैलिएको उक्त सूचनालाई उनले ‘पूर्णतः झुटो, भ्रामक र आधारहीन’ संज्ञा दिएका हुन् ।
जापानबाटै फेसबुक लाइभमार्फत आइतबार बिहान सम्बोधन गर्दै जुम्लाबाट निर्वाचित सांसद शाहीले आफू पूर्ण रूपमा सुरक्षित रहेको र जापानका कार्यक्रमहरू अत्यन्त भव्य एवं शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको जानकारी दिए ।
केही अनलाइन पोर्टल र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जापानको ओसाका सहरमा शाहीमाथि आक्रमण भएको दाबी गरेका थिए । तर, शाहीले आफू ओसाका सहरमा पुग्दै नगएको स्पष्ट पारे । ‘हामी ओसाका सहरमा गएका पनि छैनौं । नभएको ठाउँमा आक्रमण भयो भनेर प्रचार गर्नु सस्तो लोकप्रियताका लागि गरिएको प्रपञ्च मात्र हो,’ उनले भने ।
शाहीले आफू जापानमा आयोजना गरिएको ‘नेपाल फेस्टिभल’मा प्रमुख अतिथिको रूपमा सहभागी भएको र नेपाली समुदायको तर्फबाट भव्य स्वागत पाएको बताए । उनले आगामी दिनमा नागोया र नागासाकी लगायतका सहरहरूमा कार्यक्रम तय भएको र सबै तयारी शान्तिपूर्ण रहेको उल्लेख गरे ।
सांसद शाहीले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक समाचार फैलाइएको भन्दै आक्रोश व्यक्त गरे । उनले भ्युज र पैसाका लागि अरूको प्रतिष्ठामा आँच पुर्याउने तत्वहरूलाई कानुनी कठघरामा उभ्याउने चेतावनी दिएका छन् । ‘केही व्यक्तिहरूले युट्युब र फेसबुकमा डलर कमाउनका लागि झुटो कन्टेन्ट बनाइरहेका छन् । मेरो सचिवालयले यस्ता प्रत्येक आइडी र व्यक्तिको विवरण संकलन गरिरहेको छ,’ शाहीले चेतावनी दिँदै भने, ‘नेपाल फर्केलगत्तै साइबर अपराध अन्तर्गत मुद्दा चलाइनेछ ।’
उनले जापान, दुवई, अमेरिका वा बेलायत जहाँ बसेर यस्तो अफवाह फैलाए पनि सम्बन्धित देशका दूतावास र कानुनी निकायसँग समन्वय गरेर कारबाही अघि बढाउने उद्घोष गरे ।
आफूविरुद्ध भएका यस्ता गतिविधिहरूलाई उनले राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरे । संसदमा कालिकोट र मुगुका दलित समुदायमाथि भएका घटनाबारे गृहमन्त्रीलाई प्रश्न उठाएका कारण आफूलाई बदनाम गराउन गिरोह नै सक्रिय भएको उनको दाबी छ ।
उनले आफ्ना शुभचिन्तकहरूलाई यस्ता प्रायोजित र अपुष्ट समाचारको पछि नलाग्न र सत्य तथ्य बुझेर मात्र सूचना साझा गर्न अनुरोध गरेका छन् । ‘म सुरक्षित छु, मेरो अभियान जारी छ र यस्ता भ्रमले मेरो गन्तव्य रोकिने छैन,’ शाहीले भने ।








