Deneme Bonusu Veren Siteler
आइतवार, असार २८, २०८३
Sunday, July 12, 2026

टोकियो – समयको अन्तराल ठ्याक्कै तीन वर्ष ! २०७९ माघ १० गते नयाँ बानेश्वरको संसद् भवन अगाडि सल्किएको त्यो आगोको ज्वाला बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको गेटमा पुनः ब्युँतिएको छ । तीन वर्षअघि इलामका ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा पेट्रोल खन्याउँदा जुन चित्कार सुनिएको थियो, बिहीबार मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासमा त्यही करुण क्रन्दन दोहोरियो ।

यो केवल एउटा आत्महत्याको प्रयास वा एउटा व्यक्तिको आवेग मात्र होइन, यो त नेपाली राज्य संयन्त्र, यसको कठोर नीति र संवेदनहीन व्यवहारप्रति नागरिकले आफ्नो शरीर नै जलाएर गरेको बीभत्स ‘डेथ नोट’ हो । यी दुवै घटनाको एउटै निष्कर्ष छ- ‘यो देशमा इमानदारीपूर्वक गरी खान पाइएन ।’

मुगुको विकट सोरु गाउँपालिकाबाट काठमाडौँको ‘रङ्गीन सपना’ पछ्याउँदै आइपुगेका गणेश नेपालीका लागि उनको पल्सर मोटरसाइकल केवल सवारी साधन मात्र थिएन, त्यो उनको भोक मेट्ने र भविष्य कोर्ने एउटै सहारा थियो । पठाओ (राइड सेयरिङ) गरेर परिवार पाल्ने सपना बोकेका ती युवकका लागि बिहीबार दिउँसो १:४५ बजेको त्यो ‘ह्वील लक’ उनको मोटरसाइकलको पाङ्ग्रामा मात्र थिएन, उनको गरिखाने बाटोमा लागेको कठोर ताल्चा थियो ।

‘नो पार्किङ’ को निहुँमा नगर प्रहरीले देखाएको रुखो व्यवहार र ‘मान्छेलाई हेप्छस् ?’ भन्दै गणेशले गरेको प्रतिवादले राज्यको तल्लो तहको निकाय कतिसम्म ‘निर्मम’ हुन सक्छ भन्ने देखाउँछ । प्रत्यक्षदर्शीका अनुसार, अन्य मोटरसाइकल छाडेर आफ्नैमा मात्र ह्वील लक लगाइएपछि र प्रहरीले आत्मसम्मानमा चोट पुर्‍याउने गरी हप्काएपछि गणेशले आवेशमा पेट्रोल छर्किएर आगो लगाए । उपचारका क्रममा उनको मृत्यु भएसँगै एउटा श्रमजीवीको सपना सडकमै खरानी भएको छ ।प्रेम आचार्यको विरासत र राज्यको ‘कन्फेसन’
तीन वर्षअघि प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्दा उनले छाडेको २५ बुँदे ‘मृत्युपत्र’ ले देशको आर्थिक सिन्डिकेट र सरकारी नीतिको नग्न चित्र उतारेको थियो । साना उद्यमीलाई बैंकको ब्याज र ठूला व्यापारिक घरानाको उधारोले कसरी सिध्याउँछ भन्ने उनको भोगाइ आज गणेश नेपालीको हकमा ‘राइड सेयरिङ’ र ‘सडक व्यवस्थापन’ को नाममा दोहोरिएको छ । प्रेमले नीतिगत सुधार खोजेका थिए, गणेशले सडकमा श्रम गर्ने न्यूनतम सम्मान खोजेका थिए । तर, राज्यले दुवैलाई एउटै उपहार दियो- मृत्यु !

समयको चक्र कति क्रुर छ भने, प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा काठमाडौँको मेयरका रूपमा बालेन्द्र शाह (बालेन) ले लेखेका शब्दहरू आज उनकै लागि तिखो व्यङ्ग्य बनेका छन् । त्यतिबेला बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यदि कोही आत्मदाह गर्न बाध्य हुन्छ भने त्यो राज्यको चरम असफलताको संकेत हो। राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका मानिन्छन् ।

आज विडम्बना, बालेन शाह आफैँ देशको प्रधानमन्त्री छन् । जुन नगर प्रहरीको व्यवहारका कारण गणेश नेपालीले आगो लगाए, त्यो संगठन उनकै नेतृत्वको महानगरपालिकाको उपज हो । हिजो राज्यलाई ‘असफल’ घोषणा गर्ने बालेन आज सत्ताको सर्वोच्च कुर्सीमा बसेर आफ्नै संयन्त्रबाट प्रताडित नागरिकको लासमाथि मौन छन् ।

त्यस्तै, प्रेम आचार्यको पालामा ‘हाम्रो आगमनले पनि आशा जगाउन नसकेकोमा दोषी छौँ’ भन्दै माफी माग्ने रास्वपा सभापति रवि लामिछाने र उनको दल अहिले सरकारको मुख्य हिस्सेदार छ । तर, गणेश नेपालीको आत्मदाहमा रास्वपाका नेताहरूको मौनताले प्रश्न उठाएको छ- के नयाँ भनिएकाहरूको संवेदना पनि सत्ताको कुर्सीमा पुगेपछि पुरानो दलकै जस्तो गरी हराउने हो ?व्यवस्था फेरियो, अवस्था उस्तै !
पछिल्लो तीन वर्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि केपी ओलीसम्म र सुशीला कार्कीको अन्तरिम सरकारदेखि बालेन शाहको दुई-तिहाइ बहुमतको सरकारसम्म आइपुग्दा कुर्सीहरू पटक-पटक फेरिए । तर, मुगुका गणेश नेपाली जस्ता भुइँतहका मानिसको जीवन फेरिएन ।

परिवर्तनको ठूलो आशा देखाएर सत्तामा पुगेको वर्तमान सरकारले नागरिकका लागि सहज वातावरण बनाउनुको सट्टा झन् कठिन नीतिहरू अख्तियार गरेको जनगुनासो चुलिएको छ । सदनदेखि सडकसम्म र डिजिटल माध्यमहरूमा सरकारको व्यापक विरोध हुनुको कारण यही हो- जनताले ‘नयाँ शक्ति’ बाट ‘नयाँ व्यवहार’ खोजेका थिए, तर ‘नयाँ अनुहार’बाट ‘पुरानै निर्ममता’ उपहार पाए ।

यदि राज्यले नियम पालना गराउने नाममा नागरिकको आत्मसम्मान कुल्चिने र श्रमजीवीको हातमुख जोर्ने बाटो नै थुन्ने काम जारी राख्ने हो भने, प्रेम र गणेशहरूले शरीरमा झोसेको यो आगोले भोलि सिङ्गो राज्य प्रणालीलाई नै डढाउन सक्छ । कुर्सी फेरिएर मात्र हुँदैन, जबसम्म मुगुका गणेशहरूले काठमाडौँका सडकमा निर्धक्क श्रम गरेर बाँच्ने वातावरण पाउँदैनन्, तबसम्म बालेन शाहले भनेको ‘राज्यको असफलता’ को ट्याग उनी आफैँमाथि पनि झुण्डिरहनेछ ।

तपाईको प्रतिक्रिया