टोकियो – विश्वकप २०२६ को साविक विजेता अर्जेन्टिनाले एक कठिन र रोमाञ्चक प्रतिस्पर्धामा केप भार्डेलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
निर्धारित समयको खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा भएको गोल नै अर्जेन्टिनाका लागि निर्णायक सावित भयो । खेलको सुरुदेखि नै केप भार्डेले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई कडा टक्कर दिएको थियो । खेलको २९ औं मिनेटमा स्टार स्ट्राइकर लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, अर्जेन्टिनाको त्यो खुसी लामो समय टिक्न सकेन । खेलको ५९ औं मिनेटमा केप भार्डेका डेरोय डुर्टेले जवाफी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको समय १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको सुरुवातमै अर्थात् ९२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २-१ को अग्रता दिलाए । यद्यपि, केप भार्डेले हार नमानी उत्कृष्ट पुनरागमन गर्यो । १०३ औं मिनेटमा सिन्डी लोपेसले आकर्षक गोल गर्दै खेललाई २-२ को रोमान्चक मोडमा पुर्याए ।
खेल पेनाल्टी सुटआउटतर्फ मोडिने सम्भावना देखिइरहेका बेला १११ औं मिनेटमा केप भार्डेको पोस्टमा आत्मघाती गोल हुन पुग्यो । सुरुमा उक्त गोल अर्जेन्टिनी खेलाडी क्रिस्टियन रोमेरोको नाममा उल्लेख गरिए तापनि पछि त्यसलाई ‘सुसाइड गोल’को मान्यता दिइयो । त्यही गोलको मद्दतले अर्जेन्टिनाले ३-२ को जित दर्ता गर्यो ।
हारका बाबजुद केप भार्डेले मैदानमा देखाएको बहादुरी र जुझारुपनको सर्वत्र प्रशंसा भइरहेको छ । अब अर्जेन्टिनाले अन्तिम १६ को भिडन्तमा इजिप्टको सामना गर्नेछ । इजिप्टले यसअघि नै अस्ट्रेलियालाई टाइब्रेकरमा स्तब्ध पार्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ ।








