समाचार सुन्नुहोस :
काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारले आफ्नो सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन्। दार्चुलामा झोलुङ्गे पुल उद्घाटन गरेर शुक्रबार काठमाडौं फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले केही गर्ने प्रयास गरे पनि जनताले महसुस गर्ने गरी परिणाम दिन नसकेको बाताएका हुन्।
राईले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आफूहरूले निरन्तर सुझाव दिँदै आएको उल्लेख गर्दै जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन देखिनुपर्ने बताए। दार्चुला भ्रमणका क्रममा त्यहाँ सञ्चार सेवासमेत पर्याप्त नभएको आफूले अनुभव गरेको उनले सुनाए।
यद्यपि, सरकारले हालै पेट्रोलियम पदार्थको मूल्य घटाएको निर्णय भने सकारात्मक रहेको भन्दै उनले त्यसको स्वागत गरे। साथै, दुर्गम जिल्ला दार्चुलाको विकाससँग जोडिएका कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको पनि उनले बताए।








