समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले विद्यालय तहका विद्यार्थीलाई राष्ट्रिय सेवा दलमार्फत सैन्य तालिम दिने व्यवस्था गर्न नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ।
प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहले प्रस्तुत गरेको ‘राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक, २०८३’ ले हाल कार्यान्वयनमा नरहेको राष्ट्रिय सेवा दल ऐन, २०२७ लाई प्रतिस्थापन गर्ने प्रस्ताव गरेको छ। विधेयकमा संविधानको भावना र संघीय शासन प्रणालीअनुसार नयाँ कानुनी व्यवस्था आवश्यक भएकाले यो प्रस्ताव ल्याइएको उल्लेख छ।
विधेयकअनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, अनुशासन, जनसेवा र राष्ट्रिय एकताको भावना विकास गर्ने उद्देश्यले राष्ट्रिय सेवा दल गठन गरिनेछ। साथै, संविधानको राष्ट्रिय सुरक्षा नीतिअनुसार नागरिकलाई राष्ट्रसेवाका लागि सक्षम बनाउने लक्ष्य पनि राखिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार सामुदायिक र संस्थागत दुवै विद्यालयका विद्यार्थी तालिममा सहभागी हुनेछन्। कक्षा ८ देखि १० सम्मका १३–१८ वर्ष उमेर समूहका विद्यार्थीलाई ‘जुनियर डिभिजन’ र कक्षा ११–१२ का १६–२१ वर्ष उमेर समूहका विद्यार्थीलाई ‘सिनियर डिभिजन’ अन्तर्गत तालिम दिइने व्यवस्था गरिएको छ।








