टोकियो – ग्रीष्मकालीन बिदा नजिकिँदै गर्दा टोकियो प्रहरीले विश्वविद्यालयका विद्यार्थीहरूलाई ‘शङ्कास्पद पार्ट-टाइम काम’बाट जोगिन कडा चेतावनी दिएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र चिनजानका व्यक्तिहरूमार्फत युवाहरू गम्भीर अपराधमा संलग्न गराइन थालेपछि प्रहरीले सचेतना अभियानलाई तीव्र पारेको हो ।
टोकियोको बुन्यो वार्डस्थित ताकुशोकू विश्वविद्यालयमा शुक्रबार आयोजित एक विशेष व्याख्यानमा करिब १२० जना विद्यार्थीहरू सहभागी थिए । सो अवसरमा टोकियो महानगरीय प्रहरी विभागका अधिकारीहरूले विद्यार्थीहरूलाई अपराधीहरूको जालमा कसरी परिन्छ भन्नेबारे व्यावहारिक जानकारी दिएका थिए ।
प्रहरी अधिकारीहरूका अनुसार धेरैजसो युवाहरू ‘यो काम सबैले गरिरहेका छन्’ वा ‘म कहिल्यै पक्राउ पर्दिनँ’ भन्ने भ्रममा परेर अवैध कार्यमा लाग्ने गरेका छन् । ‘यस्तो सोचाइले तपाईंलाई अन्जानमै अपराधी बनाउन सक्छ,’ एक अधिकारीले भने ।
व्याख्यानमा ‘तोकुर्यु’ भनिने जापानका अज्ञात र चलायमान आपराधिक समूहहरूले कसरी विद्यार्थीहरूको शोषण गरिरहेका छन् भन्नेबारे चर्चा गरिएको थियो। यस्ता समूहले उच्च पारिश्रमिकको लोभ देखाएर युवाहरूलाई हत्या, लुटपाट र ठगी जस्ता जघन्य अपराधमा प्रयोग गर्ने गरेका छन् ।
प्रहरीले पसल वा अन्य सार्वजनिक स्थानमा भेटिने अपरिचित व्यक्तिहरूबाट आउने अफर र अनौठो गरी धेरै पैसा दिने बाचा गरिएका कामहरूबाट टाढै रहन सुझाव दिएको छ । जापानमा पछिल्लो समय ‘डार्क बाइटो’ सामाजिक समस्याका रूपमा देखा परेपछि सुरक्षा निकायले शैक्षिक संस्थाहरूसँगको सहकार्यलाई बढावा दिएको छ ।








