टोकियो – जापानका खचाखच भरिएका रेलहरूमा ‘ब्याकप्याक’ (झोला) बोक्ने शैलीलाई लिएर यात्रुहरूबीच असन्तुष्टि चुलिएको छ । ढाडमा झोला बोक्दा अरू यात्रुलाई ठक्कर लाग्ने र असुविधा हुने भन्दै विगतमा झोलालाई अगाडि (छातीतिर) फर्काएर बोक्न सुझाइएको थियो । तर, अहिले आएर यो तरिका पनि प्रभावकारी नभएको भन्दै आलोचना सुरु भएको छ ।
जापान प्राइभेट रेलवे एशोसिएसनले गरेको एक सर्वेक्षण अनुसार, सन् २०१० मा रेलभित्र झोलाका कारण हुने असुविधालाई ११ औँ स्थानमा राखिएको थियो । तर, सन् २०१८ सम्म आइपुग्दा यो गुनासो शीर्ष स्थानमा पुगेको छ । सर्वेक्षणमा सहभागी ६६ प्रतिशतभन्दा बढीले ढाडमा झुन्ड्याइने झोलालाई सबैभन्दा झर्कोलाग्दो समस्याका रूपमा औंल्याएका छन् ।
विज्ञहरूका अनुसार सन् १९९० को दशकसम्म जापानी कर्मचारीहरू पातलो छालाको ‘ब्रिफकेश’ बोक्थे । तर, पछिल्लो समय ‘क्याजुअल’ पहिरनको लहर, स्मार्टफोनको प्रयोग र ल्यापटप बोकेर हिँड्नुपर्ने बाध्यताका कारण ठूला ब्याकप्याकको प्रयोग ह्वात्तै बढेको हो ।
अगाडि झोला बोक्दा पनि भीडमा उत्तिकै ठाउँ ओगटिने र अरूलाई असुविधा हुने सामाजिक सञ्जालमा यात्रुहरूको गुनासो छ । यसैलाई मध्यनजर गर्दै केही ब्यागेज उत्पादक कम्पनीले रेलका लागि विशेष ‘पातलो झोला’ बजारमा ल्याएका छन्, जसको माग उच्च देखिएको छ ।
सन् २०१८ मा पश्चिम जापानका रेल सञ्चालकहरूले झोला अगाडि बोक्न अभियान चलाएका थिए । तर, हालैका वर्षहरूमा उनीहरूले आफ्नो सन्देश परिवर्तन गर्दै झोला ‘हातमा झुन्ड्याएर बोक्न’ आग्रह गर्न थालेका छन् ।
यद्यपि, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र साना बालबालिका भएका यात्रुहरूका लागि झोला हातमा बोक्नु चुनौतीपूर्ण हुने विज्ञहरूको तर्क छ । वासेदा विश्वविद्यालयका प्राध्यापक दाइसुके तानाका भन्छन्, ‘रेलको अत्यधिक भीडको समस्यालाई रेल कम्पनीहरूले समाधान गर्नुको साटो व्यक्तिगत जिम्मेवारी भन्दै यात्रुमाथि थोपर्नु उचित होइन ।’
रेलमा हुने भीडभाडको समस्या तत्काल समाधान हुने नदेखिएकाले यात्रुहरूबीच आपसी समझदारी, संवेदनशीलता र लचकता नै यसको एकमात्र विकल्प देखिएको छ ।








