टोकियो – जापानका इन्जिनियरहरूले सडक किनार र सार्वजनिक पार्कहरूमा रहेका पुराना रुखहरू ढल्ने वा हाँगा भाँचिने जोखिम पहिचान गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) मा आधारित प्रणाली विकास गरिरहेका छन् । पुराना रुखहरू सार्वजनिक सुरक्षाका लागि चुनौती बन्दै गएको र वृक्ष विशेषज्ञ (ट्री डक्टर) हरूको चरम अभाव देखिएपछि प्रविधिको सहारा लिन लागिएको हो ।
जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयका अनुसार अप्रिल २०२१ देखि नोभेम्बर २०२४ सम्मको अवधिमा देशभरका पार्क र सडक किनारका रुखसँग सम्बन्धित १,७३२ वटा दुर्घटनाहरू भएका छ न्। यी घटनामा ११० जनाको मृत्यु भएको वा गम्भीर घाइते भएका छन् । सन् २०२४ को सेप्टेम्बरमा मात्रै पश्चिमी टोकियोको हिनोमा ‘गिङ्गो’ रुखको हाँगा भाँचिएर खस्दा एक पैदलयात्रीको ज्यान गएको थियो ।
कसरी काम गर्छ एआई प्रणालीले ?
- ड्रोन र एआईको सङ्गम: टोकियोस्थित ‘ओप्टिम कर्पोरेसन’ र फुकुओकाको ‘क्यूडेन ड्रोनसर्भिस’ले संयुक्त रूपमा यस्तो प्रणाली विकास गरेका छन्, जसले ड्रोनमार्फत खिचेका तस्बिरहरू विश्लेषण गरी सुकेका वा मर्न लागेका रुखहरू तत्कालै पत्ता लगाउँछ ।
- स्मार्टफोनबाटै जोखिम मूल्याङ्कन: ‘सुमितोमो मित्सुमी कन्स्ट्रक्सन’ले स्मार्टफोन वा ट्याब्लेटबाट खिचिएको रुखको तस्बिरलाई विश्लेषण गर्ने प्रविधि तयार पारेको छ । यसले रुखको फेद वा हाँगामा रहेका टोड्का, सडन वा च्याउहरूलाई आफ्नो डाटाबेसमा रहेका हजारौँ तस्बिरहरूसँग तुलना गर्छ । वृक्ष विशेषज्ञहरूको रोग निदान विधिलाई आत्मसात गरेको यस प्रणालीले केही मिनेटभित्रै रुख ढल्ने जोखिमलाई १ देखि ४ सम्मको स्तरमा वर्गीकरण गरिदिन्छ ।
क्युटोको किजुगावा सहर, मियाजाकीको मियाकोनोजो र टोकियो महानगरपालिकाले यसअघि नै यो प्रणालीको सफल परीक्षण गरिसकेका छन् । किजुगावा नगरपालिकाका एक अधिकारीले भने, ‘हामीले २०,००० भन्दा बढी रुखहरूको रेखदेख गर्नुपर्छ, तर जनशक्ति अभावले नियमित निरीक्षण असम्भव जस्तै थियो । एआईको सहयोगले अब यो कार्य छिटो र सटिक हुनेछ ।’
वृक्ष विशेषज्ञ हिदेमी काताओकाका अनुसार रुखको भित्री भागमा प्वाल हुनु वा फेदमा च्याउ उम्रिनु जोखिमको सङ्केत हो, जुन साधारण मानिसले ठम्याउन कठिन हुन्छ । एआईले यस्ता सुक्ष्म कुराहरूलाई पनि सजिलै समात्न सक्छ ।
जापानको तीव्र आर्थिक वृद्धिको समयमा सवारी साधनको प्रदूषण सोस्नका लागि ठूलो सङ्ख्यामा सडक किनारमा रुखहरू रोपिएका थिए । ती रुखहरू अहिले आफ्नो आयुको अन्तिम चरणमा पुगेकाले ढल्ने जोखिम बढेको हो ।








