Deneme Bonusu Veren Siteler
शनिबार, असार २०, २०८३
Saturday, July 4, 2026

टोकियो – विश्वकपको नकआउट चरणमा पाँच पटकको च्याम्पियन ब्राजिललाई कडा चुनौती दिएर बाहिरिएको जापानी राष्ट्रिय फुटबल टोली ‘सामुराई ब्लु’ स्वदेश फर्किएको छ । टोकियोका प्रमुख विमानस्थलहरूमा उत्रिएको टोलीलाई हजारौँ प्रशंसकहरूले भव्य स्वागत गरेका छन् ।

टोलीका मुख्य प्रशिक्षक ५७ वर्षीय हाजिमे मोरियासुले समर्थकहरूलाई धन्यवाद दिए तापनि आफ्नो भविष्यको योजनाबारे भने कुनै स्पष्ट सङ्केत दिएका छैनन् । आगामी ६ महिनापछि साउदी अरबमा आयोजना हुने ‘एसियन कप’ नजिकिँदै गर्दा जापान फुटबल एसोसिएसनले उनलाई नै पदमा निरन्तरता दिन आग्रह गर्ने अपेक्षा गरिएको छ ।

जापानी खेलाडीहरू दुई समूहमा विभाजित भएर स्वदेश फर्किएका थिए। प्रशिक्षक मोरियासु र केही खेलाडीहरूलाई टोकियोको हानेदा विमानस्थलमा करिब ७०० प्रशंसकले स्वागत गरे भने अन्य सदस्यहरूलाई नारिता विमानस्थलमा करिब ५०० समर्थकले हौसला दिएका थिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मोरियासुले भने, ‘केही समयको विश्रामपछि म सुरुमा यस प्रतियोगिताको विस्तृत समीक्षा गर्नेछु । अहिलेका लागि यति नै तय भएको छ ।’अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपमा जापानले समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको थियो । समूह चरणमा एक जित र दुई बराबरको नतिजा निकाल्दै जापान लगातार तेस्रोपटक विश्वकपको अन्तिम ३२ (राउण्ड अफ ३२) मा पुग्न सफल भएको थियो ।

ह्युस्टनमा भएको प्रतिष्पर्धात्मक खेलमा ब्राजिलसँग २-१ ले पराजित भएसँगै जापानको यात्रा टुङ्गिएको थियो । खेलको अन्तिम समयमा गोल बेहोरेपछि जापान ऐतिहासिक जितबाट वञ्चित भएको थियो । सन् २०२२ को कतार विश्वकपमा पनि जापानलाई अन्तिम १६ सम्म पुर्‍याएका मोरियासु लगातार दुई विश्वकपमा जापानको नेतृत्व गर्ने पहिलो प्रशिक्षक हुन् ।

यसैबीच, जेएफएले मोरियासुको सम्झौता केवल एक वर्षका लागि मात्र नवीकरण गर्न लागेको हल्ला चलिरहेका बेला पूर्व स्टार खेलाडी केइसुके होन्डाले सामाजिक सञ्जालमार्फत आफू प्रशिक्षक बन्न तयार रहेको घोषणा गरेका छन् । ४० वर्षीय होन्डाले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘यदि अन्य कुनै विकल्प नभएर केवल काम चलाउनका लागि मात्र मोरियासुलाई राखिन लागिएको हो भने मलाई एकपटक मौका किन नदिने ? यदि हामीले एसियन कप हार्यौँ भने मलाई कुनै प्रश्न नगरी तत्कालै बर्खास्त गर्न सक्नुहुनेछ ।’

तपाईको प्रतिक्रिया