टोकियो – ओकिनावा युद्धमा ज्यान गुमाएकाहरूको स्मृतिमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सानाए ताकाइचीको सम्बोधनका क्रममा भएको हुटिङ र नाराबाजीप्रति जापानी रक्षामन्त्री शिनजिरो कोइजुमीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
गत जुन २३ मा ओकिनावाको इतोमान सहरस्थित शान्ति स्मारक पार्कमा आयोजित समारोहमा प्रधानमन्त्री ताकाइचीले भाषण गरिरहँदा प्रदर्शनकारीहरूले ‘युद्धलाई नाइँ भनौँ’ र ‘संविधानको धारा ९ को रक्षा गरौँ’ भन्दै चर्को नाराबाजी गरेका थिए । उक्त घटनालाई रक्षामन्त्री कोइजुमीले “अत्यन्तै खेदजनक” संज्ञा दिएका छन् ।
समारोहमा सहभागी भएपछि कोइजुमीले आफ्नो सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै लेखेका छन्, ‘हामीले भावी पुस्तालाई एउटा शान्तिपूर्ण विश्व हस्तान्तरण गर्नुपर्छ । शान्ति कायम रहोस् भन्ने हामी सबैको साझा चाहना हो, तर प्रधानमन्त्रीको सम्बोधनका क्रममा जसरी हुटिङ गरियो, त्यो निकै निराशाजनक छ ।’
उनले समारोहमा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्मारकमा फूल चढाएको र प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीहरूले शान्तिका गीतहरू गाएको स्मरण गर्दै त्यसको प्रशंसा गरेका छन् ।
रक्षामन्त्री कोइजुमीले विरोधमा उत्रिएका वयस्क व्यक्तिहरू र शान्तिको सन्देश वाचन गर्ने एक छात्राबीचको भिन्नतालाई समेत उल्लेख गरे । आफ्नी जिजुहजुरआमाको युद्धकालीन अनुभवलाई समेटेर शान्तिको कविता वाचन गर्ने ती छात्राको उदाहरण दिँदै उनले लेखेका छन्, ‘एकातर्फ केही वयस्कहरू थिए जसले शान्त प्रार्थना गर्ने ठाउँलाई विरोध प्रदर्शनको थलोमा बदले, अर्कोतर्फ एक छात्रा थिइन् जसले निकै शालीन र शक्तिशाली ढङ्गले शान्तिको सन्देश प्रवाह गरिन् । समाजमा कसको व्यवहारले साँचो अर्थमा सहानुभूति र प्रेरणा जगाउन सफल भयो भन्ने कुरा छर्लङ्ग छ ।’
जापानको सुरक्षा नीतिमा आएको परिवर्तन र संविधान संशोधनको प्रयासलाई लिएर ओकिनावामा पछिल्लो समय सरकारको कडा विरोध हुँदै आएको छ । तर, युद्धका मृतकहरूलाई श्रद्धाञ्जली दिने पवित्र स्थलमा भएको यो राजनीतिक खिचातानीलाई लिएर कोइजुमीले गम्भीर प्रश्न उठाएका हुन् ।








