समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत बिहीबार पदाधिकारी चयनका लागि मतदान हुँदैछ। पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । महाधिवेशनबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री चयन गरिनेछ। यस्तै प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि पनि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। वरिष्ठ नेतामा भने प्रधानमन्त्रीसमेत रहेका बालेन शाह चयन भइसकेका छन्।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदान सकिएपछि बिहीबार नै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएर प्रमाणपत्र वितरण गरिनेछ। हाल ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। निर्वाचनमा खुलातर्फ ६४ सदस्यका लागि २१० जना र भूगोलतर्फ ३५ सदस्यका लागि १७४ जना गरी कुल ३८४ उम्मेदवार प्रतिस्पर्धामा छन्।
बुधबार रातिदेखि सुरु भएको विद्युतीय मतदान बिहीबार बिहान १० बजेसम्म जारी रहनेछ। चार हजारभन्दा बढी प्रतिनिधिले मतदान गरिसकेका छन् भने केही घण्टामै प्रारम्भिक परिणाम सार्वजनिक गर्ने तयारी छ।








