Deneme Bonusu Veren Siteler
शुक्रबार, असार १२, २०८३
Friday, June 26, 2026

टोकियो – उत्तर-पूर्वी जापानको इवाते प्रान्तको प्रशान्त तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहीबार गएको ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पले देशको झन्डै आधा पूर्वी भागलाई हल्लाइदिएको छ । यसको धक्का राजधानी टोकियोको दक्षिणमा पर्ने कानागावा प्रान्तदेखि उत्तरी टापु हक्काइडोसम्म व्यापक रूपमा महसुस गरिएको छ ।

भूकम्पको धक्का केन्द्रविन्दुभन्दा सयौँ किलोमिटर टाढासम्म महसुस हुनुको मुख्य कारण ‘लङ-पिरियड ग्राउन्ड मोसन’ (लामो समयसम्म हल्लिने लहर) भएको मौसम विज्ञान विभागले जनाएको छ । यस प्रकारको कम्पनले अग्ला भवनहरूलाई लामो समयसम्म झुलाउने र टाढासम्म प्रभाव पार्ने गर्दछ । आओमोरी, मियागी र हक्काइडोसहित पाँचवटा प्रान्तमा ‘स्तर २’ को तीव्रता रेकर्ड गरिएको छ, जहाँ घरभित्र रहेका मानिसहरूलाई हिँडडुल गर्न कठिन भएको थियो ।

भूकम्पविद्हरूले सन् २०२५ को अन्त्यदेखि सुरु भएको ठूला भूकम्पहरूको यो शृङ्खला अझै नरोकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । इवाते र आसपासका क्षेत्रमा विगत केही महिनादेखि लगातार शक्तिशाली धक्काहरू आइरहेका छन् । गत डिसेम्बरमा ७.५ र अप्रिलमा ७.७ म्याग्निच्युडका भीषण भूकम्प गइसकेका छन् ।

टोकियो विश्वविद्यालयका भूकम्प विज्ञानका प्रोफेसर सिनइची साकाइले भने, ‘यति छोटो अन्तरालमा लगातार ७ म्याग्निच्युडभन्दा ठूला भूकम्प जानु सामान्य परिस्थिति होइन । यदि कुनै धक्काले समुद्री सतहको बनावटमा परिवर्तन ल्याएमा ठूलो सुनामी आउने जोखिम रहन्छ ।’

अहिलेको परिस्थिति सन् २०११ को विनाशकारी महाभूकम्प अघिको अवस्थासँग मिल्दोजुल्दो रहेको विज्ञहरूको भनाइ छ । सन् २०११ मार्च ११ मा ९.० म्याग्निच्युडको महाभूकम्प जानु ठिक दुई दिनअघि सोही क्षेत्रमा ७.३ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही अनुभवका आधारमा अहिले ‘हक्काइडो र सान्रिकु तटीय क्षेत्र’ मा विशेष सावधानी अपनाउन भनिए तापनि आधिकारिक ‘एडभाइजरी’ भने जारी गरिएको छैन ।

टोकियो विश्वविद्यालयकै अर्का प्रोफेसर मासानावो सिनोहाराका अनुसार यो एक विशिष्ट ‘प्लेट बाउन्ड्री’ भूकम्प हो । उनका अनुसार यसअघिका भूकम्पहरू समुद्रको केही माथिल्लो सतहमा गएका थिए भने बिहीबारको कम्पन दुईवटा टेक्टोनिक प्लेटहरू आपसमा जोडिएको निकै गहिरो भागमा उत्पन्न भएको हो ।

४४ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको यो भूकम्पले जमिनमा कडा कम्पन पैदा गरेको छ । मौसम विभागले ‘लङ-पिरियड ग्राउन्ड मोसन’ का कारण अग्ला भवनहरूमा रहेका लिफ्टहरू बिग्रन सक्ने र फर्निचरहरू खस्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया