टोकियो – कारको कप होल्डरमा राखिएको एउटा सानो पावर बैंक विस्फोट हुँदा जापानका एक चर्चित युट्युबरले आफ्नो प्रिय टेस्ला कार गुमाउनुपरेको छ । ५ लाखभन्दा बढी सब्सक्राइबर भएका ३९ वर्षीय ट्राभल युट्युबर ओनोडाको ‘टेस्ला मोडेल ३’ कार पावर बैंक विस्फोटबाट अपूरणीय रूपमा क्षतिग्रस्त भएपछि अन्ततः कबाडमा पठाइएको छ ।
घटना टोकियोको व्यस्त हरजुकु क्षेत्रको हो । ओनोडाले आफ्नो परिवारसँग सपिङ मलमा गएका बेला कारलाई पार्किङमा राखेका थिए । दुई घण्टापछि फर्किँदा कारको विन्डसिल्ड फुटेको र भित्रबाट प्लास्टिक डढेको कडा गन्ध आइरहेको थियो । कारभित्रको दृश्य बीभत्स थियो, कप होल्डर पग्लिएर लेदो बनेको थियो भने सिटहरू जलेर काला भएका थिए ।
जाँचका क्रममा कप होल्डरमा राखिएको पावर बैंक अचानक पड्किएको र त्यसका टुक्राहरू उछिट्टिएर भित्र आगो लागेको पुष्टि भयो । ओनोडाका अनुसार उक्त पावर बैंक उनले सन् २०२५ को जनवरीमा करिब १५ हजार येन (९३ डलर) मा किनेका थिए । ‘भाग्यवश कसैलाई चोट लागेन, तर कार पूर्ण रूपमा नष्ट भयो,’ उनले भने । सन् २०२० मा ७५ लाख येनमा किनिएको उक्त कारसँग आफ्नो पारिवारिक सम्झना जोडिएको भन्दै उनले भावुक रूपमा कारलाई बिदाइ गरेका छन् ।
मर्मत गर्न नसकिने अवस्था भएपछि कार कबाडमा पठाइएको छ । ओनोडाले आफ्नो बिमा पोलिसीमा ‘भेहिकल कभरेज’ नराखेका कारण अब नयाँ कारका लागि उनले आफ्नै गोजीबाट पूरै रकम खर्चनुपर्ने भएको छ ।
जापानको दमकल विभागका अनुसार पावर बैंकबाट हुने आगलागीका घटना तीव्र रूपमा बढिरहेका छन् । सन् २०२५ मा मात्र यस्ता ४८२ घटना दर्ता भएका छन्, जुन तीन वर्षअघिको तुलनामा चार गुणा बढी हो ।








