टोकियो – जापानले बलियो मानिएको नेदरल्यान्ड्सलाई बराबरीमा रोकेको छ । अमेरिकाको डालासस्थित एटीएनटी रंगशालामा सोमबार भएको समूह ‘एफ’ को यी दुईबीचको खेल २-२ को बराबरीमा टुंगिएको हो ।
नेदरल्यान्ड्सले बल अधिक नियन्त्रणमा राखे पनि पहिलो हाफ गोलको खडेरीमा बितेको थियो । भर्जिल भान डाइकको गोलमा नेदरल्यान्ड्सले ५१ औं मिनेटमा अग्रता लियो । रायन ग्राभेनबर्कको लामो क्रसमा उनले गरेको हेड पोष्टको कुना च्याप्दै गोल भएको थियो ।
जापानले ६ मिनेटपछि नै खेल बराबरीमा ल्यायो । ५७ औं मिनेटमा केइटो नाकामुराले जापानका लागि बराबरी गोल गरे । क्रिसिएनसिओ समरभिलले ६४ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई पुन: अग्रता दिलाए । यसपटक पनि नेदरल्यान्ड्सबाट ग्राभनेबर्कले नै असिस्ट गरेका थिए ।
तर दाइची कामादाको गोलमा जापानले ८९ औं मिनेटमा खेल २-२ को बराबरीमा ल्याएको थियो । जापानले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो, त्यसयता टोलीले सबै विश्वकप खेल्दै आएको छ ।








