Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानको इचिकावा सहरस्थित चिडियाखानामा रहेको ‘पन्च’ नामक बाँदरका लागि संकलित चन्दा रकमले नयाँ रेकर्ड कायम गरेको छ । एउटा भुवादार खेलौनालाई आफ्नो ‘आमा’ सम्झेर अँगालो हाल्ने उसको अनौठो र भावुक स्वभाव विश्वभर भाइरल भएपछि हालसम्म ४ करोड ३० लाख येन (करिब ३ लाख ७७ हजार अमेरिकी डलर) सहयोग संकलन भएको छ ।

सहयोगको ओइरो लाग्ने क्रम जारी रहेपछि इचिकावा नगरपालिकाले चन्दा संकलनको म्याद आगामी डिसेम्बर ३१ सम्मका लागि थप गरेको छ । यसअघि यो समयसीमा मे ३१ सम्म मात्र तोकिएको थियो । गएको मार्चमा नगरपालिकाले पन्चलाई माया गर्ने शुभचिन्तकहरूको आग्रहमा ‘#Gambare Punch’ (मिहिनेत गर पन्च) नामक सहयोगी निर्देशिका जारी गरेको थियो। त्यसयता जापानभित्र र बाहिरबाट ठूलो परिमाणमा रकम प्राप्त भइरहेको छ ।

गत मे १७ मा दुई व्यक्ति अनाधिकृत रूपमा बाँदरको खोरमा प्रवेश गरेको घटना सार्वजनिक भएपछि मात्रै करिब ४० लाख येन सहयोग थपिएको नगरपालिकाले जनाएको छ। संकलित रकम पन्चसहित चिडियाखानाका अन्य जनावरहरूको वातावरण सुधार्न र भौतिक पूर्वाधार मर्मतमा खर्च गरिनेछ । सहरले यसै महिना नगर सभामा ७ करोड येनको पूरक बजेट प्रस्ताव गर्ने तयारी गरेको छ । यस परियोजनाअन्तर्गत बाँदरको खोरमा सितल छहारी बनाउने, माटोका खाडल खन्ने, ‘ब्याकयार्ड’मा वातानुकूलित यन्त्र (एसी) जडान गर्ने र सरसफाइका लागि पानीका सुविधाहरूलाई आधुनिक बनाउने योजना छ ।

चिडियाखानाका अनुसार, पन्चले आफ्नो ‘ओराङ्गुतुल मामा’ भनिने खेलौना बोकेर हिँड्ने क्रम अहिले केही घटेको छ । अचेल हप्तामा एक पटक मात्र उसले खेलौना बोकेको देखिन्छ। चिडियाखानाका एक प्रतिनिधिले भने, ‘आगन्तुकहरूका लागि त्यो दृश्य रमाइलो वा भाग्यशाली क्षण हुन सक्छ, तर हाम्रो दृष्टिकोणबाट हेर्दा पन्चले खेलौना समात्नु उसको तनावको सङ्केत हो । हामी चाहन्छौँ कि उसले चाँडोभन्दा चाँडो त्यो खेलौनाको मोह त्यागोस् र आफ्नो प्राकृतिक स्वभावमा फर्कोस् ।’

तपाईको प्रतिक्रिया