टोकियो – जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत नेपाली विद्यार्थी अमन अधिकारी सकुशल फेला परेका छन् । शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा साँझदेखि सम्पर्कविहीन भएका अधिकारी व्यापक खोजीपछि फेला परेका हुन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले एक सूचना सार्वजनिक गर्दै अमन सकुशल फेला परेको र उनी हाल परिवारको सम्पर्कमा आइसकेको जानकारी दिएको छ । उनी कसरी र कहाँ भेटिए भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन, तर उनी शारीरिक रूपमा स्वस्थ रहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
अमन बेपत्ता भएको खबर सार्वजनिक भएलगत्तै जापानमा रहेका नेपाली समुदाय, विद्यालय प्रशासन र सामाजिक अभियन्ताहरू खोजी कार्यमा सक्रियताका साथ लागेका थिए। एनआरएनए जापानले अमनको खोजीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने, सूचना साझा गर्ने र चिन्ता व्यक्त गर्ने सम्पूर्ण जापानवासी नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
‘समुदायको एकता, चासो र सहयोगले कठिन परिस्थितिमा पनि सकारात्मक परिणाम प्राप्त गर्न ठूलो भूमिका खेलेको छ,’ एनआरएनए जापानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अमन सकुशल फेला परेपछि उनका परिवारका सदस्य र विद्यालय प्रशासनले राहतको सास फेरेका छन् । प्रवासी नेपाली समुदायले अमनको उज्ज्वल भविष्यको कामना गर्दै उनको परिवारमा देखिएको यो दुःखको बादल हटेकोमा खुसी व्यक्त गरेका छन् ।








