Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026
सांकेतिक तस्बिर

टोकियो – जापान सरकारले विदेशी उद्यमीहरूका लागि ‘बिजनेस म्यानेजर’ (व्यवसाय प्रबन्धक) आवासीय अनुमति (भिसा) प्राप्त गर्ने र नवीकरण गर्ने नियममा व्यापक कडाइ गरेपछि यसको चौतर्फी विरोध सुरु भएको छ । गत अक्टोबरदेखि लागू भएको नयाँ नियमले व्यवसायका लागि आवश्यक न्यूनतम पूँजी ५० लाख येनबाट उल्लेख्य वृद्धि गरी ३ करोड येन पुर्‍याएपछि साना विदेशी व्यवसायीहरू संकटमा परेका हुन् ।

यो नियम नयाँ आवेदन दिनेका लागि मात्र नभई, पहिलेदेखि जापानमा व्यवसाय गरिरहेकाहरूका लागि पनि भिसा नवीकरण गर्दा लागू हुने भएपछि सयौँ व्यवसायहरू बन्द हुने खतरा बढेको छ । टोकियोको कोतो वार्डमा २० सिट क्षमताको ‘सत्कार’ नामक भारतीय-नेपाली रेस्टुरेन्ट चलाइरहेका ४७ वर्षीय नेपाली नागरिक यतिबेला निकै चिन्तित छन् । उनी भन्छन्, ‘मैले जापानमै बसेर आफ्नो रेस्टुरेन्ट सधैँका लागि चलाउने र यहीँ बस्ने सोचेको थिएँ, तर अब सबै कुरा अनिश्चित भएको छ ।’

सन् २००८ मा जापान आएका उनले ५ वर्ष अर्को रेस्टुरेन्टमा काम गरेपछि २०१३ मा ५० लाख येनको पूँजी लगानी गरेर आफ्नै कम्पनी खोलेका थिए । अहिलेसम्म उनले भिसाको सबै मापदण्ड पूरा गर्दै आएका थिए । तर, ३ करोड येनको नयाँ शर्तले उनलाई अप्ठ्यारोमा पारेको छ । ‘कच्चा पदार्थको मूल्य बढेको छ, यति धेरै रकम बचत गर्न असम्भव छ । भिसा दुरुपयोग गर्नेलाई कारबाही हुनुपर्छ, तर हामी जस्ता इमानदार व्यवसायीलाई एउटै डालोमा राखेर नियम लगाउनु कत्तिको न्यायोचित हो ?’ उनी प्रश्न गर्छन् ।विदेशी व्यवसायीहरूको समर्थनमा जापानमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘आफ्नो मनपर्ने एथ्निक रेस्टुरेन्टहरूलाई सधैँ साथ दिऔँ’ भन्ने ह्यासट्याग अभियान चलाइरहेका छन् । साइतामा प्रान्तका लेखक तारो चुरुगासिमाले ‘करी पसलहरूलाई सिध्याउने ३ करोड येनको नियम रोक्नुहोस्’ भन्ने शीर्षकमा अनलाइन निवेदन सुरु गरेका छन् । गत मे १३ मा उनले ५३ हजारभन्दा बढी मानिसको हस्ताक्षर जापानको अध्यागमन सेवा एजेन्सी (आइएसए)लाई बुझाएका छन् । सो अवसरमा एक भारतीय व्यवसायीले आँसु झार्दै भने, ‘यदि हामीलाई अचानक घर जा भनियो भने हामीले के गर्ने ? कृपया हामीलाई मद्दत गर्नुहोस् ।’

किन कडा पारियो नियम ?
अध्यागमन एजेन्सीका अनुसार धनी विदेशीहरूले ‘कागजी कम्पनी’ खडा गरेर भिसाको दुरुपयोग गर्ने क्रम बढेकाले यो कदम चालिएको हो । कतिपय अवस्थामा एउटै भवनमा धेरै साना अफिसहरू दर्ता हुने तर त्यहाँ कुनै वास्तविक कारोबार नहुने गरेको पाइएको छ । एजेन्सीका एक अधिकारीले भने, ‘हामी स्थिर रूपमा चलिरहेका कम्पनीहरूको व्यवस्थापन र प्रयासलाई हेरेर केही हदसम्म विचार त गर्छौँ, तर सबैका लागि एउटै स्पष्ट मापदण्ड नहुँदा व्यक्तिगत रूपमा जाँच गर्नुपर्ने हुन्छ ।’

‘टोकियो शोको रिसर्च’ले गरेको सर्वेक्षणअनुसार ५ प्रतिशत विदेशी व्यवसायीहरूले नियमकै कारण पसल बन्द गर्ने सोच बनाइरहेका छन् । मेइजो विश्वविद्यालयका प्रोफेसर आत्सुशी कोन्दोका अनुसार जापानले पनि दक्षिण कोरियाले जस्तै व्यवसायको प्रकृति हेरेर फरक-फरक पूँजीको मापदण्ड तोक्नुपर्छ । सानो रेस्टुरेन्ट र ठूलो घरजग्गा कारोबार गर्ने कम्पनीलाई एउटै ३ करोड येनको नियम लगाउनु अव्यवहारिक हुने उनको तर्क छ ।

जापानले श्रम शक्तिको अभाव टार्न विदेशीहरूलाई स्वागत गर्ने नीति लिएको दाबी गरे पनि, यस्ता कडा नियमहरूले दक्ष र इमानदार व्यवसायीहरूलाई निरुत्साहित गरिरहेको विज्ञहरूको बुझाइ छ ।

तपाईको प्रतिक्रिया