टोकियो – जापानका ठूला व्यावसायिक घरानाहरूले आफ्ना कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गर्न सहमति जनाएका छन् । जापानको सबैभन्दा ठूलो व्यावसायिक सङ्गठन ‘जापान बिजनेस फेडेरेसन’ (केइदान्रेन) का अनुसार, यो लगातार तेस्रो वर्ष हो जसमा औसत तलब वृद्धि दर ५ प्रतिशतभन्दा माथि पुगेको छ ।
केइदान्रेनले बुधबार सार्वजनिक गरेको यस वर्षको ‘वसन्तकालीन तलब वार्ता’को प्रारम्भिक प्रतिवेदनअनुसार, ५०० वा सोभन्दा बढी कर्मचारी भएका १०३ वटा ठूला कम्पनीहरूमा औसत ५.४६ प्रतिशतले तलब वृद्धि भएको छ । यो वृद्धि दर अघिल्लो वर्षको तुलनामा ०.०८ विन्दुले बढी हो ।
तथ्याङ्कअनुसार, मासिक औसत तलबमा १९,९६४ येन (करिब १२५ डलर) को बढोत्तरी भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ६२२ येनले बढी हो । सन् १९७६ मा तुलनात्मक तथ्याङ्क राख्न सुरु गरिएयताकै यो सबैभन्दा उच्च मासिक वृद्धि हो ।
क्षेत्रगत रूपमा हेर्दा सूचना तथा सञ्चार क्षेत्रका कर्मचारीको तलब सबैभन्दा बढी ८.२८ प्रतिशतले बढेको छ । त्यसैगरी, निर्माण क्षेत्रमा ७.६३ प्रतिशत र अधातु क्षेत्रमा ६.४८ प्रतिशतको वृद्धि देखिएको छ ।
केइदान्रेनका श्रम नीति विभाग प्रमुख निता हिदेसीले बढ्दो महँगीको सामना गर्न र दक्ष जनशक्तिलाई कम्पनीमा टिकाइराख्न यसपटक तलब वृद्धिमा आक्रामक देखिएको बताए । उनले भने, ‘धेरैजसो कम्पनीहरूले नियमित तलब वृद्धिका अतिरिक्त आधारभूत तलबमै भारी वृद्धि गरेका छन् ।’
केइदान्रेनका अनुसार, वार्षिक तलब वृद्धि वार्ता कम्पनीहरूको अघिल्लो वर्षको कार्यसम्पादनमा आधारित रहने भएकाले मध्यपूर्वको वर्तमान तनावले ठूला कम्पनीहरूको यस निर्णयमा खासै असर पारेको छैन । जापानले लामो समयदेखि भोग्दै आएको न्यून मुद्रास्फीति र स्थिर तलबको अवस्थालाई चिर्दै पछिल्ला वर्षहरूमा देखिएको यो वृद्धिले जापानी अर्थतन्त्रमा सकारात्मक सञ्चार गर्ने अर्थविद्हरूको विश्लेषण छ ।








