टोकियो – जापानमा आर्थिक वर्ष २०२५ मा श्रमिकहरूको ‘वास्तविक तलब’मा लगातार चौथो वर्ष पनि गिरावट देखिएको छ । महँगीको तुलनामा तलब वृद्धिको गति सुस्त हुँदा जापानी कामदारहरूको क्रयशक्तिमा ह्रास आएको हो ।
जापानको श्रम मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार, गत मार्चमा समाप्त भएको आर्थिक वर्षमा मूल्यवृद्धिको अनुपातमा तलब बढ्न नसक्दा यस्तो स्थिति सिर्जना भएको हो । मन्त्रालयले पाँच वा सोभन्दा बढी कर्मचारी भएका ३०,००० भन्दा बढी व्यावसायिक प्रतिष्ठानहरूमा यो सर्वेक्षण गरेको थियो ।
तथ्याङ्कअनुसार, आधारभूत तलब, ओभरटाइम र बोनससहितको औसत ‘नोमिनल क्यास वेज’ प्रति महिना करिब ३ लाख ५८ हजार येन (करिब २,२५० डलर) पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतको वृद्धि हो। योसँगै जापानमा मौद्रिक तलब (नगद) मा लगातार पाँचौँ वर्ष वृद्धि देखिएको छ ।
यद्यपि, मुद्रास्फीति (महँगी) समायोजन गरेपछिको ‘वास्तविक तलब’ मा भने ०.५ प्रतिशतको गिरावट आएको छ । यसको अर्थ कामदारले पाउने नगद बढे पनि त्यसले किन्न सकिने वस्तु र सेवाको परिमाण भने घटेको छ ।
वास्तविक तलबमा आएको गिरावटको यो क्रम आर्थिक वर्ष २०२४ को तुलनामा स्थिर रहेको छ। यसअघि आर्थिक वर्ष २०२२ मा वास्तविक तलब १.८ प्रतिशत र २०२३ मा २.२ प्रतिशतले घटेको थियो । पछिल्लो समय गिरावटको दर केही कम भए पनि यो अझै नकारात्मक नै रहेको छ ।
श्रम मन्त्रालयका अनुसार अहिले नगद तलब बढ्ने क्रम स्थिर छ र यस वर्ष महँगीको दर पनि बिस्तारै कम हुँदै गएको छ । यस वर्षको वसन्त ऋतुमा जापानका ठूला कम्पनीहरूले कर्मचारीको तलबमा भारी वृद्धि गर्ने घोषणा गरेका थिए। अब साना तथा मझौला उद्योगहरूले पनि सोही अनुरूप तलब बढाउँछन् वा बढाउँदैनन् भन्ने कुरामा अर्थतन्त्रको भविष्य निर्भर रहने मन्त्रालयले जनाएको छ ।








