काठमाडौं – म्यान्मारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सू चीलाई घरमा नजरबन्दमा सारिएको र उनको सजायलाई घटाएर १८ वर्ष बनाइएको जनाएको छ ।
सरकारी सञ्चारमाध्यमले नोबेल शान्ति पुरस्कार विजेता सू ची दुई जना सैनिक पोसाक लगाएका व्यक्तिका सामुन्ने बसिरहेको एउटा तस्बिर पनि प्रसारण गरेका छन् । उनका छोरा किम एरिसले बीबीसीलाई उक्त तस्बिरको कुनै अर्थ नभएको बताए । उनका अनुसार त्यो चार वर्ष पुरानो तस्बिर हो र आफ्नी आमा जीवित छन् कि छैनन् भन्नेबारे आश्वस्त हुने गरी जानकारी नपाएको उनले बताए ।
उनले प्रेस विज्ञप्तिबाट पछिल्लो जानकारी आएको भए पनि म्यान्मारको सैन्य सरकारलाई विश्वास गर्न नसकिने बताए । सन् २०२१ मा सू चीको सरकारलाई सैन्य कूबाट अपदस्थ गरिएको थियो। उनलाई लगाइएका आरोपहरू आधारहीन रहेको धेरैले बताउने गरेका छन् । थुनामा रहेकी ८० वर्षकी नेत्री सू चीलाई घरमा नजरबन्दमा सारिएको म्यानमारको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको हो ।
सन् २०२१ मा सैन्य कूमार्फत् अपदस्थ गरिएकी सू चीलाई त्यसयता राजधानी न्यापीडअस्थित सेनाको एउटा जेलमा थुनामा राखिएको ठानिएको थियो । त्यसबेला कूको नेतृत्व गरेका म्यानमारका सैन्य नेता मिन आङ् ह्लाइङ्ले एउटा विज्ञप्तिमार्फत् सूचीले बाँकी सजाय ‘निर्धारित निवासमै भोग्ने गरी घटाइएको’ जनाएका हुन् ।








