वेलिङ्टन – न्युजिल्यान्डका अधिकारीहरूले दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाद्वारा यौन दासत्वमा पारिएका ‘कम्फर्ट वुमन’को सम्झनामा निर्माण गर्न लागिएको शालिक स्थापना गर्ने प्रस्ताव बुधबार अस्वीकार गरिदिएका छन् । जापान सरकारले उक्त शालिकले कूटनीतिक सम्बन्धमा खलल पुर्याउन सक्ने संकेत गरेपछि न्युजिल्यान्डले यस्तो निर्णय लिएको हो ।
सन् १९३२ देखि १९४५ सम्म जापानले कोरिया, चीन र दक्षिण-पूर्वी एसियाका करिब २ लाख महिलाहरूलाई जबरजस्ती यौन दास बनाउन बाध्य पारेको थियो । यो ऐतिहासिक मुद्दा अहिले पनि टोकियो र उसका छिमेकी राष्ट्रहरूबीचको सम्बन्धमा एउटा गम्भीर र संवेदनशील विषयको रूपमा रहँदै आएको छ ।
‘कोरियन गार्डेन ट्रस्ट’ ले अकल्यान्डको उपनगर ताकापुनास्थित बेरीज पोइन्ट रिजर्भमा ती पीडितहरूको सम्मानमा एउटा स्मारक स्थापना गर्न खोजेको थियो । तर, व्यापक सार्वजनिक परामर्श र छलफलपछि ‘डेभनपोर्ट-ताकापुना लोकल बोर्ड’ ले उक्त आवेदनलाई खारेज गरिदिएको छ । बोर्डकी अध्यक्ष ट्रिस डिन्सले भनिन्, ‘यो एक निकै कठिन निर्णय थियो र हामीले यसलाई हल्का रूपमा लिएका छैनौँ । हामीले कर्मचारीहरूको सल्लाह र औपचारिक परामर्श प्रक्रियामार्फत समुदायबाट प्राप्त प्रतिक्रियाहरूलाई गम्भीरतापूर्वक ध्यानमा राखेर यो निर्णय गरेका हौँ ।’
प्रस्तावित शालिकको विरोधमा न्युजिल्यान्डका लागि जापानी राजदूत माकोतो ओसावाले बोर्डलाई एक पत्र लेखेका थिए। पत्रमा उनले उक्त शालिकले ‘न्युजिल्यान्डको उत्कृष्ट बहु-जातीय र बहु-सांस्कृतिक समाजमा विभाजन ल्याउने र जापानी तथा कोरियाली समुदायबीच द्वन्द्व निम्त्याउन सक्ने’ दाबी गरेका थिए । साथै, न्युजिल्यान्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले पनि जापानी सरकारले यस प्रस्तावित शालिकको विषयमा औपचारिक रूपमा आफ्नो गम्भीर चासो व्यक्त गरेको जानकारी दिएको छ ।
परामर्शका क्रममा धेरै मानिसहरूले उक्त शालिकको समर्थन गरेका थि ए। उनीहरूले यसलाई युद्धका बेला घटेका घटनाहरूका बारेमा सिक्ने र चिन्तन गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएका थिए । बोर्ड अध्यक्ष डिन्सले उक्त शालिकले प्रतिनिधित्व गर्ने इतिहासको महत्त्व र पीडितहरूको कथालाई आफूहरूले सम्मान गर्ने भए तापनि वर्तमान परिस्थितिमा यसलाई अनुमति दिन नसकिएको स्पष्ट पारिन् ।








