टोकियो – जापान सरकारले मंगलबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मार्च महिनामा मुलुकको बेरोजगारी दरमा सामान्य वृद्धि देखिएको छ । अघिल्लो महिना अर्थात् फेब्रुअरीको २.६ प्रतिशतको तुलनामा बढेर मार्चमा यो दर २.७ प्रतिशत पुगेको हो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जारी तथ्याङ्कसँगै रोजगारीको उपलब्धता सम्बन्धी अनुपातमा पनि केही गिरावट आएको छ। फेब्रुअरीको तुलनामा यो अनुपात ०.०१ विन्दुले घटेर १.१८ कायम भएको छ ।
यसको अर्थ, जापानमा हाल रोजगारीको खोजीमा रहेका प्रत्येक १०० जना व्यक्तिहरूका लागि ११८ वटा काम उपलब्ध छन् । बेरोजगारी दरमा भएको यो झिनो वृद्धि र रोजगारीको अवसरमा आएको संकुचनले श्रम बजारमा केही सुस्तता आएको संकेत गरेको छ ।








