काठमाडौं – चीनको हुबेइ प्रान्तस्थित लिचुआन शहरमा आयोजित ‘प्रथम एशिया-अफ्रिका ब्ल्याक टी एक्सचेन्ज महोत्सव’ मा नेपाली अर्थोडक्स चियाले विशेष चर्चा पाएको छ । नेपाली राजदूतावासको सक्रियतामा आयोजित स्वाद परीक्षण कार्यक्रममा नेपालको ‘एक सुइरो’ (गोल्डेन टिप्स) चियाप्रति सहभागीहरूले विशेष रुचि देखाएका हुन् ।
गत वैशाख ११ देखि १३ गतेसम्म चलेको उक्त महोत्सवमा चीनसहित विभिन्न पाँच देशका चिया प्रदर्शनीमा राखिएका थिए । २०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थितिमा नेपाली चियाको गुणस्तर, स्वाद र सुगन्धको उच्च प्रशंसा गरिएको थियो । नेपालको इलाममा उत्पादित पातबिनाको मुना (एक सुइरो) बाट तयार पारिएको यो चियालाई गुणस्तरका हिसाबले उत्कृष्ट मानिएको छ ।
कार्यक्रममा नेपाली राजदूतावासकी आर्थिक मन्त्री पर्वती अर्यालले नेपालको चिया क्षेत्रबारे कार्यपत्र प्रस्तुत गर्दै हिमाली हावापानी र प्राङ्गारिक मापदण्डअनुसार उत्पादन गरिने हुनाले नेपाली चिया स्वास्थ्यका लागि लाभदायक रहेको बताउनुभयो । उहाँले समुन्द्री सतहदेखि ७ हजार फिटसम्मको उचाइमा उत्पादन हुने नेपाली चियामा उच्च एन्टिअक्सिडेन्ट रहने जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा यसको माग बढ्दो रहेको उल्लेख गर्नुभयो ।
मन्त्री अर्यालले इलामदेखि लुम्बिनीसम्मलाई जोड्ने ‘टी हर्स रोड’ (चिया–घोडा मार्ग) को अवधारणा अघि सार्दै यसले चिया संस्कृति र विश्व शान्तिको सम्बन्धलाई थप प्रवर्द्धन गर्ने धारणा राख्नुभयो । चिया उद्योगको विविधीकरण र आधुनिक प्रविधिको प्रयोगमार्फत नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने उहाँको भनाइ थियो ।
चीन चिया उद्योग समिति एसोसिएसन र बेल्ट एण्ड रोड इनोभेटिभ संस्थाको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा चिनियाँ कृषि विज्ञान एकेडेमीका पूर्व अध्यक्ष चाइ हु छु लगायतका विज्ञहरूको सहभागिता थियो । महोत्सवका क्रममा चिया बगानको अवलोकन, चियाबाट निर्मित वाइन र विभिन्न पेय पदार्थको प्रदर्शनीका साथै ब्रान्डिङ र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा प्यानल छलफल समेत गरिएको थियो ।








