Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – हवाई उडानका क्रममा हुन सक्ने आगलागीको जोखिमलाई न्यूनीकरण गर्न जापानले पावर बैंक सम्बन्धी नियममा व्यापक कडाइ गरेको छ । शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्था अनुसार अब यात्रुहरूले विमानभित्र पावर बैंक प्रयोग गर्न र चार्ज गर्न पाउने छैनन् ।

जापानको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयका अनुसार नयाँ नियमले प्रत्येक यात्रुलाई आफूसँग बढीमा दुईवटा मात्रै पावर बैंक लैजान अनुमति दिएको छ । साथै, १६० वाट-घण्टाभन्दा बढी क्षमता भएका पावर बैंक बोक्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले गत मार्चमा लिथियम ब्याट्रीको सुरक्षाका सम्बन्धमा जारी गरेको नयाँ मापदण्डलाई पछ्याउँदै जापानले यो कदम चालेको हो । पावर बैंकमा प्रयोग हुने ‘लिथियम-आयन’ ब्याट्रीहरूमा भौतिक चोट पुग्दा, चाप पर्दा वा पुराना हुँदै जाँदा तातिएर आगो लाग्ने वा धुवाँ निस्कने उच्च जोखिम हुन्छ ।

सन् २०२५ को जनवरीमा दक्षिण कोरियाली सस्तो वायुसेवा ‘एयर बुसान’को एक विमानमा उडानकै क्रममा आगलागी भएको थियो । उक्त घटना एउटा खराब पावर बैंकका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएपछि हवाई सुरक्षामा गम्भीर चासो व्यक्त गरिएको थियो ।

जापानमा पावर बैंक सम्बन्धी नीतिमा एक वर्षभित्र गरिएको यो दोस्रो ठूलो परिवर्तन हो । यसअघि गत जुलाईदेखि नै पावर बैंकलाई जहाजको तल्लो भाग र यात्रुको टाउको माथिको घर्रामा राख्न निषेध गरिएको थियो ।

तपाईको प्रतिक्रिया