Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – त्रिभुवन आर्मी क्लबले पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगन्जमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मीले तेस्रो पटक ट्रफी आफ्नो नाम गरेको हो ।

१६२ रनको लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर जित निकालेको हो । टोलीका लागि इमरान शेखले अविजित ४६ रनको इनिङ खेले भने बसिर अहमदले ४५ रन बनाए ।

आर्मी सुरुवातमा दबाबमा परेको थियो । ५६ रन जोड्दा ४ विकेट गुमाइसकेको अवस्थामा इमरान र बसिरले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाए । दुवैले पाँचौं विकेटका लागि ९६ रन थपे ।

सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए । शेर मल्ल, अशोक धामी र विकास आग्रीले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमै समेटिएको थियो । सुरुवाती तथा मध्यक्रमका ब्याटर चल्न नसके पनि तल्लोक्रमले केही संघर्ष गरेको थियो ।

अशोक धामीले सर्वाधिक ४३ रन बनाए । नारायण जोशीले २९, किरण ठगुन्नाले २५ तथा हेमन्त धामीले १६ रन जोडे ।

आर्मीका लागि आकाश चन्द र शाहब आलमले समान ३–३ विकेट लिए । बसिर अहमदले २ तथा कुशल मल्लले १ विकेट लिए ।

प्रतियोगिताभर आर्मी अपराजित रह्यो । लिग चरणमा ९ खेलमध्ये एक खेलमा अंक बाँडेको आर्मीले बाँकी सबै खेल जितेको थियो ।

पहिलो पटक फाइनल पुगेको सुदूरपश्चिम उपाधिबाट भने वञ्चित भयो । आर्मीले यसअघि २०१७ र २०२१ संस्करणमा पनि उपाधि जितेको थियो ।

तपाईको प्रतिक्रिया