
टोकियो-टर्कीमा दुई दिनभित्र दोस्रो पटक विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बुधबार एक माध्यमिक विद्यालयमा एक विद्यार्थीले दुई वटा कक्षामा अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना भएको टर्कीका आन्तरिक मामिला मन्त्रीले जानकारी दिएका छन् ।
अधिकारीहरूका अनुसार १४ वर्षीय आक्रमणकारी पनि घटनामा मृत फेला परेका छन् । उनी सेवानिवृत्त प्रहरी अधिकारी रहेका आफ्नै बुवाको हतियार प्रयोग गरी विद्यालय पुगेको बताइएको छ । घटनास्थलबाट पाँच वटा बन्दुक र सात वटा म्यागजिन बरामद गरिएको जनाइएको छ ।
आक्रमणको कारण तत्काल खुल्न सकेको छैन । आक्रमणकारी प्रहरी कारबाहीमा मारिएको हो वा आत्महत्या गरेको हो भन्नेबारे पनि स्पष्ट जानकारी आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन् ।
घाइते १३ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको आन्तरिक मन्त्री मुस्तफा चिफ्त्चीले जानकारी दिएका छन् ।
यो घटना अघिल्लो दिन नजिकैको सानलिउर्फा प्रान्तमा भएको अर्को गोलीकाण्डपछि आएको हो, जहाँ एक पूर्व विद्यार्थीले उच्च माध्यमिक विद्यालयमा गोली चलाउँदा १६ जना घाइते भएका थिए । उक्त घटनामा संलग्न व्यक्तिले पछि आत्महत्या गरेका थिए ।
यसअघि टर्कीमा विद्यालयभित्र हुने यस्ता गोलीकाण्ड दुर्लभ मानिँदै आएको थियो, तर पछिल्ला घटनाले सुरक्षा चुनौतीबारे चिन्ता बढाएको छ ।
राज्य सञ्चालित प्रसारक टीआरटीले आक्रमणकारीको पहिचान इसा आरास मेर्सिन्लीका रूपमा गरेको छ र उनका बुवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।
यसैबीच टर्की सरकारले घटनासम्बन्धी “आघातजन्य” दृश्यहरूको प्रसारणमा प्रतिबन्ध लगाएको छ र सञ्चारमाध्यमहरूलाई आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र प्रसारण गर्न निर्देशन दिएको छ ।
घटनापछि काहरामानमारासको ओनिकिसुबात जिल्लास्थित विद्यालयमा अभिभावकहरू आतुरताका साथ पुगेका थिए, जहाँ सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिने प्रयास गरेका थिए ।








